काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालयमा लगिएको छ । महरालाई भैरहवा पक्राउ गरेर विमानस्थलहुँदै लाजिम्पाटस्थित सीआईवी कार्यालय लगिएको हो । स्वेटर, ग्रे कलरको ज्याकेटको पहिरनमा रहेका महरा मलिन अनुहारमा देखिन्थे ।
पक्राउ गरेर प्रहरीले महरालाई सिधै भैरहवा विमानस्थल लगेको थियो । महरालाई विमानस्थलमा पुर्याइँदा नेकपाका महासचिव विप्लव पनि विमानस्थलमै थिए । सो क्रममा विप्लवसँग महराको जम्काभेट भएको बताइएको छ । विप्लव भने जिल्लाका कार्यक्रम सकेर काठमाडौँ आउन लागेको र सोही क्रममा प्रहरी नियन्त्रणमा रहेका महराको विप्लवसँग जम्काभेट भएको हो ।
सो क्रममा विप्लवले महराबारे चासो समेत रहेका थिए । सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए भने रोल्पा हिँडेका भनिएका उनलाई भैरहवाबाट पक्राउ गरिएको हो । आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए ।
गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुवँर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभागका प्रमुख श्याम ज्ञवालीलाई सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न आग्रह गर्दै सो निर्देशन दिएका थिए । भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ ।
महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् । भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राहुलबिरुद्ध संगठित तस्करी गरेको आरोपमा अनुसन्धान गरेको थियो ।