• मंसिर १४ २०८१, शुक्रबार

राजनीतिक ठगी धन्दामा नलाग्न प्रचण्डलाई बाबुरामको आग्रह

चैत्र ४ २०८०, आईतवार

काठमाडौँ । नेपाल समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजनीति ठगी गरेको निष्कर्ष निकाल्दै त्यस्ता कार्य नगर्न आग्रह गरेको छ । शनिबार केन्द्रीय कार्यकारिणी समितिको बैठकले देशका कार्यकारी प्रधानमन्त्रीबाट अध्यक्षलाई थाहै नदिई एकताको नाटक मञ्चन गर्नु राजनीति ठगी भएको निष्कर्ष निकालेको हो ।

‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले देशका प्रधानमन्त्री हुनुहुन्छ । उहाँ सबैको नेता हो । कुनै गुट वा पार्टीको नेता होइन । त्यस्तो हाइलेबलमा भएको मान्छे, एउटा कार्यकारी निकायमा भएका मान्छेले पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई कुनै जानकारी नदिई, कुनै संवाद नगरी, केही मान्छेसँग एकता गर्ने निर्णय गरे यो राजनीति ठगी हो । यो गैरराजनीति कार्य हो । यो अनैतिक कार्य हो । यस्तो खालको गैरराजनीति कार्य नगर्न बैठकले आग्रह गरेको छ’, बैठकपछि मिडिया हेर्ने जिम्मेवारी पाएका नेता कृष्णप्रसाद शर्माले भने ।

प्रचण्डको यस्ता खालको क्रियाकलापले राजनीतिलाई झनै प्रदूषित बनाउने र बाहिर राम्रो सन्देश नजाने शर्माले बताए । प्रधानमन्त्री जस्तो व्यक्तिले राजनीति सुद्धीकरण गर्नुपर्नेमा छलछामको राजनीति गरेको उनले आरोप लगाए ।