ग्याष्ट्रिकको पहिलो उपचार भनेको सतर्कता अपनाउने नै हो। सुन्तला, कागती, भोगटे लगायतका फलफूल खानुहुँदैन। डाक्टरको सल्लाह लिएर मात्र औषधि खानुपर्छ, जथाभावी खानु हुँदैन । ग्याष्ट्रिकको प्रकृति हेरेर उपचार गर्नुपर्छ। जचाएर कुन किसिमको ग्याष्ट्रिक हो भन्ने पत्ता लगाउनुपर्छ। अल्सर भएको छ भने त्यसको उपचार अलि फरक ढंगले गर्नुपर्छ।
भित्र घाउ भएर रक्तश्राव भएको छ भने यस्तो अवस्थामा रगत समेत दिनुपर्ने हुन्छ। इन्डोस्कोपी गरेर अल्सरमा भएको घाउ उपचार गर्नुपर्छ। औषधिले पनि ग्याष्ट्रिक ठीक नभए शल्यक्रिया गर्नपर्ने हुन सक्छ।
कार्बोहाइड्रेट कम खाने : पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राजमा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ । ग्याष्ट्रिक भएपछि उमालेको मात्रै खाने, माछामासु नखाने प्रवृत्ति गलत हो। सन्तुलित भोजन गर्नुपर्छ। चिल्लो पदार्थ खानै नहुने भन्ने होइन, आवश्यक मात्रामा खान सकिन्छ।
दूध नपिउने : ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र अन्य दूधबाट बनेको परिकार खानु राम्रो हुन्छ ।
प्रशस्त पानी पिउने : लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन र जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्ड ड्रि«ङ्कको प्रयोग गर्नुहुँदैन । यसले पेटमा ग्यास बढाउँछ । मदिरा र सुर्तीजन्य पदार्थबाट बच्नुपर्छ।
लसुन पानी : बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ । उच्च रक्तचाप भएकाहरूलाई समेत यसले फाइदा गर्छ ।
खाना समयमा खाने : ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ ।