• आश्विन १३ २०८१, आईतवार

मिर्गौला रक्षा जीवन रक्षा

चैत्र १ २०८०, बिहीबार

सुत्दा अग्लो सिरानी चाहिने, थोरै हिँड्दा पनि स्याँस्याँ हुने र त्यत्तिकै थाकेजस्तो महसुस हुने भएपछि मिर्गौला परीक्षण गराउनु पर्छ । मिर्गौलाको समस्या भएको शङ्का लागेमा रक्तचाप, शरीरमा चिनीको मात्रा र पिसाबको परीक्षण पछि यसको प्रारम्भिक उपचार सुरु हुन्छ ।

सानो लापरबाहीले मिर्गौला बिग्रिन सक्छ । मिर्गौला बिग्रिएपछि जीवन कष्टकर बन्छ । मिर्गौला प्रत्यारोपण गर्नु धेरै जटिल काम हो । यसका वस्तुगत, व्यवहारिक र कानुनी समस्याहरू छन् ।

डाइलाइसिस् गरेर रोकथाम गर्नु झन्झटिलो छ । यसका लागि पैसा, समय, पहुँच, सोच तथा नियमितता आवश्यक पर्छ । मिर्गौला जोगाउन आफैँ सजग हुनुहोस् । डाइलाइसिस् निःशुल्क गर्ने सरकारको कार्यक्रम रहेकाले उपचारमा केही सुविधा पनि छ । डाइलाइसिस् अल्पकालीन रोकथाम मात्र हो ।

मिर्गौला जोगाउन निम्न लक्षण थाह पाइराख्नु राम्रो हुन्छ :

अ) पिसाबमा फिँज आइरहनु ।

आ) पिसाब धमिलो हुनु वा गाढा रातो रङ्गको देखिनु ।

इ) छिनछिनमा पिसाब लाग्नु ।

ई) पिसाब फेर्न राति उठिरहनु ।

उ) पिसाब फेरिसक्दा समेत निख्रेजस्तो नलाग्नु ।

ऊ) कहिलेकाहीँ धेरै कोखा दुख्नु ।

ए) बिहान उठ्दा आँखाको डिल सुन्निनु ।

ऐ) दिउँसै खुट्टाको गोलीगाँठा सुन्निन थाल्नु ।