• मंसिर १२ २०८१, बुधबार

अब बहुउद्धेश्यीय सहकारीहरुको काम छैन : पूर्वअर्थमन्त्री खतिवडा

चैत्र १ २०८०, बिहीबार

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बहुउद्देश्यीय सहकारीको काम नभएको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘पहिलो डिजिटल सम्मेलन’मा उनले यस्तो बताएका हुन् । एउटा मात्र काम गरेर बहुउद्देश्यीय सहकारी भन्न नमिल्ने उनको भनाइ छ ।

उनले बहुउद्देश्यीयका नाममा एकल उद्देश्य पूर्ति गर्ने सहकारीको अब काम नभएको बताए । अब बहुउद्देश्यीय सहकारीलाई क्षेत्रगत र उद्देश्यकेन्द्रित बनाउन जरुरी रहेकामा उनले जोड दिए ।

उनले सहकारीले अब उत्पादन, वितरण र उपभोक्ताका क्षेत्रमा काम गर्न आवश्यक रहेको औँल्याए । पछिल्लो समय बहुउद्देश्यीयका नाममा नेटवर्किङ गरेर सहकारीलाई एक किसिमको व्यवसाय मात्र बनाइएको उनले बताए ।

नोटको प्रयोग घट्दै गएकाले अब सहकारी पनि डिजिटल प्रविधिमा जानुको विकल्प नभएको उनले उल्लेख गरे । पूर्वअर्थमन्त्री डा. खतिवडाले सामाजिक सञ्जालको उपयोग गरेर सदस्यलाई सहकारीका गतिविधिबारे जानकारी दिने वातावरण बनाउन आवश्यक रहेको बताए । सदस्यका हितमा काम नगर्ने सहकारीको भविष्य नरहेको उनको भनाइ छ ।