• फाल्गुन २९ २०८२, शुक्रबार

सहकारीबाट ऋण लिएर हाउजिङ र गाडीमा लगानी गर्ने तर राज्य रमिते बनिदिँदा समस्या आयो : कानून मन्त्री गिरी

चैत्र १ २०८०, बिहीबार

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीका सञ्चालकको गल्तीले मात्रै सहकारीमा समस्या नआएको बताएका छन् । बिहीबारबाट काठमाडौंमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रथम सहकारी डिजिटल कन्क्लेभलाई सम्बोधन गर्दै उनले सहकारीका सञ्चालकको मात्रै गल्तीले सहकारीमा समस्या नआएको र राज्यले समयमा नियमन नगर्दा अहिलेको परिस्थिति आएको बताए । मन्त्री गिरीले सहकारीमा समस्या आए पनि समाधानका लागि राज्यले लिएको कार्यशैली गलत भएको बताए ।

कानुन मन्त्री गिरीले सहकारीबाट ऋण लिएर ठूला–ठूला हाउजिङ र गाडीमा लगानी गर्दा राज्य र नियामक निकाय रमिते बनेको बताए । सहकारीको नियमन गर्न बसेका निकायहरूले राज्यबाट सुविधा लिने तर ठूलो समस्या आउँदा ध्यान नदिने कुरा राम्रो पक्ष नभएको उनको भनाइ छ । उनले आम जनताको बचतबाट ऋण लिएकाले समयमै ऋणको साँवा, ब्याज चुक्ता गर्न जरुरी रहेको बताए । उनले ऋण नतिर्ने छुट कसैलाई नभएको भन्दै कतिपय ऋणीका कारण सहकारीहरू समस्यामा परेको बताए ।

मन्त्री गिरीले विधि, पद्धति, सहकारीका मूल्यमान्यता र सिद्धान्त भन्दा बाहिर गएर ऋण प्रवाह गर्नेलाई कानुन बमोजिम कारबाही हुनुपर्ने बताए । जुनसुकै हिसाबमा सहकारीबाट लिएको ऋण ऋणीले तिर्नुपर्ने उनले बताए । उनले सहकारीका सञ्चाललाई थुनेर मात्रै बचत फिर्ता नहुने भन्दै समयमै प्रभावकारी नियमन नहुँदा समस्या आएकाले समाधानका लागि समय दिनुपर्ने बताए ।

कानुनमन्त्री गिरीले सञ्चालकलाई जेल पठाएर सहकारीका बचतकर्ताको बचत फिर्ता हुन नसक्ने बताए । उनले सहकारीमा पारदर्शीता र विश्वसनीयता कायम गर्न प्रविधिको प्रयोग अनिवार्य रहेको बताए ।