• फाल्गुन २९ २०८२, शुक्रबार

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत, कति आयो मत ?

फाल्गुन ३० २०८०, बुधबार

फागुन ३०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् । १५ महिनामा उनले प्रतिनिधिसभाबाट तेस्रोपटक विश्वासको मत पाएका हुन् ।
बुधबार प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावमाथि मत विभाजन हुँदा उनको पक्षमा १५७ र विपक्षमा ११० मत पर्यो । एक सांसद तटस्थ रहे । बैठकमा २६८ सांसद उपस्थित थिए ।

प्रधानमन्त्री प्रचण्डलाई उनको दल माओवादी केन्द्रसहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति र स्वतन्त्र सांसदहरूले मत दिएका थिए ।

विश्वासको मतको विपक्षमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा रहे । विश्वासको मतको विपक्षमा ११० सांसदले मतदान गरे ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा विश्वासको मत पाउन कम्तीमा १३८ सांसदको समर्थन आवश्यक हुन्छ । प्रधानमन्त्रीका पक्षमा १५७ सांसदले मतदान गरे । उनी ०७९ पुस १० गतेदेखि गठबन्धन फेर्दै प्रधानमन्त्री छन् ।