मरूभूमिबीचको रमाइलो साँझ ढल्दै गयो । रूपौलो आकाशमा चाँदीजस्तो चम्किरहेको सूर्य पश्चिममा ढल्किँदै जाँदा बिस्तारै उजाड मरूभूमिको अन्त्यहीन क्षितिजलाई अँध्यारो पछ्यौराले ढाक्दै लग्यो ।
केही क्षणपछि चारैतिर अकस्मात् स्पटलाइटको किरणले सारा डबली जगमगाउन थाल्यो । उज्यालोले डबली झिलिमिली भयो । एकछिनपछि रैथाने अरेबियन पहिरनमा एकजना नृत्यकारको सुन्दर आकृति हातमा दर्जनौ छाता लिएर फनफनी नाच्न थाल्यो ।
बिस्तारै स्पटलाइटका हजारौं बत्तिहरू धमिलिँदै गए । बीचको बत्तिले ती नृत्यकारलाई एउटा उज्यालो घेरामा फोकस गर्नासाथ सारा स्पट लाइट झ्यााप्प निभे । नृत्यकारले कलात्मक तरिकाले एकेक गरी आफूले लगाएको बस्त्र फ्याँक्दै गए ।
सोही क्रमा उनले हातमा बोकिरहेका अनगिन्ती छाताहरूको सहाराले नाच्दानाच्दै विभिन्न आकृति प्रदर्शन गर्दै गए । अन्त्यमा जब ती नृत्यकार त पुरूष पो रहेछन् भन्ने रहस्य खुल्यो, तब सबै दर्शक दङ्ग परे ।
उनको नाच सकिएपछि बल्दै गरेका सबै बत्ति झ्याप्प बन्द भयो । सारा मरूभूमिबीचको झिलिमिली सांस्कृतिक ‘वआसिस’ एक छिनका लागि अँध्यारोमा हरायो ।
एकछिन पछि मुस्ताफा, मस्ताफा, मुस्ताफा … को प्रचलित धुन बज्न थाल्यो । कुनाबाट एक नर्तकी दाौडदै र नाच्दै डबलीको बीच भागमा आइपुगिन् । त्यही बेलामा स्पटलाइटले नर्तकीलाई फोकस गर्न थाल्यो ।
बत्तिको झिलिमिलीमा नर्तकीको हस्तीहाडजस्तो सेतो शरीर र उनले लगाएको पातलो रङ्गिन परिहनले सबैलाई मुग्ध बनाइदियो । नाच्ने बेलामा सङ्गीतको धुनमा नृत्याङ्गनाले कलात्मक ढंगले आफ्नो वक्षस्थल र पेटका हरेक मांशपेसीलाई ‘फिरिरिरिरिरी’ हल्लाइरहेकी थिइन ।
त्यो ठाउँमा हजारौं पर्यटकहरू थिए । तर सारा वातावरण मधुर रसमा चुर्लुम्म डुबेको थियो । सियो खस्यो भने पनि चाल पाइएला जस्तो थियो । शान्त, अति शान्त ! हामीजस्ता दर्शक मात्र होइन, अरूलाई सधैं हाँइरहने मनोज गजुरेलसमेत सासै नफेरिकन एक टकले नृत्य हेरिरहेका थिए ।
गज्जबको चुम्बकीय नाच थियो त्यो !
(कर्ण शाक्यको ‘मोज’ बाट)