• बैशाख २३ २०८१, आईतवार

स्थायी खानेपानीको खोजीमा चीनको सफलता

फाल्गुन २९ २०८०, मंगलवार

विश्वमा अहिले खानेपानीको समस्या टड्कारो बनेर आएको छ । शुद्ध खाने पानी संसारमा पाउन कठिन हुँदै गएको छ । स्रोतहरू सुक्दै, मासिदै अनि भासिदै गइरहेका छन् । जमिनमाथि शुद्ध खानेपानीको स्रोत पाउनु ‘स्वर्गधाम’ पुगे झैं हुन थाल्ने अवस्था सिर्जना हुँदै गएको छ ।

विश्वमा पेट्रोलको राजनीति केही कम हुँदै गएको छ । किनकि सोलार पावर कुनै स्थान विशेष नभई संसारभर व्यापक छ । सूर्यको ताप नै यसको स्रोत भएपछि यो सर्वव्यापी र सर्र्वशक्तिमान पनि हुँदै गएको छ । त्यसैले पनि पेट्रोल डिजेलको जमाना ओझेलमा पर्न पुगेको छ ।

तर अब खाने पानीको जमाना प्रबल भएर आउँदैछ । खाने पानीको विकल्प कुनै पनि चिज वस्तु हुन सक्दैन । खानेपानीको विकल्प खाने पानी नै हो र हुने छ पनि । पानी निर्विकल्प छ । नेपालको हिमालयको हिउँ सकिदाका दिन यो कालापत्थरमा परिणत हुने देखिन्छ । पानीको स्रोत नेपालीका लागि हिमालय नै हो ।

तर वैश्विक तापमानका कारण अब हिमालयको आयु ‘काउन्ट डाउन’ हुन थालेको छ । यो नेपालका लागि पनि र विश्वका लागि पनि चिन्ताको विषय बनिरहेको छ । विश्वमा पनि खानेपानीको समस्या हुँदै गएको छ । पहिलो हो, वैश्विक तापमानमा बृद्धि, दोस्रो हो, जनसंख्यामा बृद्धि ।

राष्ट्रियताका हिसाबले विश्वमा चिनियाँ जनताको संख्या बढी छ । चीनले शुद्ध खानेपानी आपूर्तिका लागि धेरै पहिलेदेखि खोज र अनुसन्धान गर्दै आएको छ ।

चिनियाँ अहिले समुद्रमुनिको स्वच्छपानीको स्रोत पत्ता लागाएपछि सापेक्ष शान्त र खुसी देखिन्छन् । चीनको खानेपानी समस्या यही समुद्र मुनिको पानीले निवारण हुनेमा चिनियाँ खानेपानी व्यवस्थापक ढुक्क देखिन्छन् । वैज्ञानिकहरूले समुद्रमुनि फेला पारेको पानी स्वच्छ रहेको दाबा गरिरहेका छन् ।

यी नयाँ प्राकृतिक स्रोतले विश्वका सांघाईजस्ता हजारौं काकाकुल महानगरको हजारौं वर्ष देखिको तिर्खा मेटाउने छन् । विश्वभरका समुद्र किनारमा ठूलो परिमाणमा समुद्री पानीको भूमिगत स्रोत रहेको चिनियाँ अनुसन्धानकर्ताको खुलासा रहेको छ । चीन, अष्ट्रेलियाजस्ता पानीको संकट भएका देशहरू यही स्रोतमा निर्भर रहन सक्नेमा उनीहरू आशावादी छन् ।

पहिले पहिले इस्ट चाइना सी र विभिन्न स्थानमा स्वच्छ पानीको स्रोतको खोजीका लागि गरिएका ड्रिलिङ उत्खनन्ले केही आशाको सञ्चार गरेका थिए । तर समुद्रमुनि संसारको तीर्खा मेट्ने गरी यति ठूलो परिमाणमा होला भन्ने उनीहरूमा विश्वास थिएन ।

अहिले पत्ता लागेको समुद्रमुनिको अथाह जल भण्डारले भने खानेपानीको खोजी र यसको सफलतामा नयाँ अध्याय सुरू गरेको छ ।
खोजकर्ता वैज्ञानिकका अनुसार नयाँ खोज तथा अध्ययनले समुद्रमुनिको पानीको खानी पहिले कल्पना गरिएभन्दा धेरै परपरसम्म फैलिएको देखाएको छ । करिब पाँच लाख घनकिलोमिटर स्वच्छ पानी विश्वभरका समुद्र किनारमुनि रहेको देखा पर्नु कल्पनाभन्दा बाहिरको कुरा हो ।

युरोप र उत्तरी समुद्रका साथै इस्ट चाइना सी, इस्ट यूएस कोस्ट र दक्षिणी अस्ट्रेलिया समुद्रमा ठूलो मात्रामा स्वच्छ पानी रहेको अध्ययनले देखाएको छ । खोजीमा सहभागी सहअध्ययनकर्ता आमस्टर्डम विश्वविद्यालयका प्राध्यापक जाकोबस गोरेनले ‘यस्ता स्वच्छ पानीका अथाह स्रोतले सांघाईजस्ता तिर्खाले छटपटाइरहेका विश्वका ठूला सहरहरूको तिर्खा हजारौं वर्ष’ सम्म मेटाउन सक्ने दाबा गरिसकेका छन् ।