• मंसिर १४ २०८१, शुक्रबार

५ दलबीच ७ बुँदे नयाँ राजनीतिक सहमति

फाल्गुन २९ २०८०, मंगलवार

काठमाडौँ । सत्तारुढ दल एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का बिच ७ बुँदे सहमति भएको छ । मंगलबार बिहान नयाँ बानेश्वरमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरुबिच लिखित सहमति भएको हो ।

सहमति पत्रमा जनचाहना अनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षा पुरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तराष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढङ्गले अघि बढ्न सहमत भएको उल्लेख छ ।

सहमति पत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने भनिएको छ । त्यस्तै राष्ट्रिय सभाको रिक्त रहेको अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेद्वारलाई समर्थन गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने उल्लेख छ ।

त्यस्तै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुङ्ग्याउने र सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने पनि दलहरूबिच सहमति भएको छ ।

देशका आर्थिक समस्याहरू सम्बोधन गर्दै राष्ट्रिय हित र लोकतन्त्रलाई सुदृढ बनाउन सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बिचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने भनिएको छ ।