• फाल्गुन २९ २०८२, शुक्रबार

फागुन ३० गते विश्वासको मत लिने सरकारको तयारी

फाल्गुन २६ २०८०, शनिबार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले यही फागुन ३० गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले भोलि (आइतबार) जनता समाजवादी पार्टीबाट मन्त्री बनेकाहरूको शपथ लिने र त्यसपछि सत्ता गठबन्धन दलहरूबिच छलफल गरेर फागुन ३० गते विश्वासको मत लिने तयारीबारे जानकारी गराएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

जसपाले पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ । अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिनेछन् । साह वन तथा वातावरण मन्त्री बन्नेछन् भने कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।

गत फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमाले लगायतका गठबन्धन बनाई मन्त्रिपरिषद् विस्तार गरेका थिए । कांग्रेसले प्रधानमन्त्रीका लागि आफूले दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । संवैधानिक व्यवस्था अनुसार उनले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने छ ।

संसदीय दलको बैठकले फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा उपस्थित हुन राष्ट्रिय सभामा रहेका आफ्नो दलका सदस्यहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको छ । यस्तै प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रममा पनि विश्वासको मत लिनका लागि प्रतिनिधि सभा सदस्यहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको छ ।