• मंसिर १२ २०८१, बुधबार

मैत्रीपूर्ण टी-२० मा हङकङद्वारा नेपाललाई २ सय १३ रनको लक्ष्य

फाल्गुन २६ २०८०, शनिबार

काठमाडौं । हङकङ भ्रमणमा रहेको नेपालविरुद्ध घरेलु टोलीले पहिलो टी-२० मैत्रीपूर्ण खेलमा २ सय १३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बाबर हायातले आफ्नो टी-२० अन्तर्राष्ट्रियमा दोस्रो शतक प्रहार गरेको खेलमा नेपाललाई उच्च लक्ष्य दिएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । नेपाली बलरसामु खुलेर खेलेको हङकङले अन्तिम ओभरमा २ विकेट गुमाए पनि त्यसले टिमको उच्च स्कोरमा कुनै फरक भने परेन ।

हायातले ४९ बलमा १ सय १० रनको सानदार शतकीय इनिङ खेले । उनले आफ्नो पारीमा ३ चौका र १३ छक्का प्रहार गरेका थिए । त्यस्तै, मार्टिन कोटजेले ३१ रन बनाउँदा अजाज खानले २१ रनको नटआउट इनिङ खेले ।

त्यस्तै, अन्सी रथले ३९ रन बनाएका थिए । नेपालका लागि आकाश चन्दले तीन विकेट लिँदा आरिफ शेख, प्रतिश जिसीले समान १-१ विकेट लिए ।