काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शनिबार बसेकाे पदाधिकारी बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
यद्यपि उम्मेदवार भने पछि चयन गरिने कांग्रेसले जनाएको छ । माओवादीसँग गठबन्धन हुँदा कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको कांग्रेस सत्ता समीकरण बदलिएपछि अन्योलमा छ ।
राष्ट्रियसभाको रिक्त रहेको अध्यक्षको निर्वाचन फागुन २९ गते हुँदैछ । गणेशप्रसाद तिमिल्सिना अध्यक्ष कायम रहँदै सार्वजनिक भएको राष्ट्रियसभाको क्यालेण्डरअनुसार नै अध्यक्ष निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ ।
फागुन २७ गते बस्ने राष्ट्रियसभाको बैठकमा अध्यक्षको निर्वाचनको मिति तोकिने, २८ गते मनोनयन दर्ता गर्ने र २९ गते निर्वाचन हुनेछ । राष्ट्रियसभाका निवर्तमान अध्यक्ष तिमिल्सिना ६ वर्षे कार्यकाल सकेर बिदा भएपछि यो पद खाली छ ।