काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार परिवर्तनको खेल सुरु भए संसद नै नटिक्ने दाबी गरेका छन् । सञ्चार माध्यामलाई दिएको प्रतिक्रियामा मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकार भएकाले यसले अंक गणित नहेर्ने बताए ।
‘सरकारमा बस्नेहरु बसिरहनु हुन्छ । बस्नु भएन भने कांग्रेसको मात्रै सरकार बन्छ । यो संविधानको धारा १६८ को उपधारा ५ अनुसार बनेको सरकार हो । यसले अंक गणित हेर्दैन,’ उनले भने, ‘अविश्वासको प्रस्ताव ल्याउने प्रावधान संविधानमा छ । त्यसबेलासम्म सरकार टिक्छ, जुनबेला अविश्वासको प्रस्ताव ल्याउने समय हुन्छ, त्यसबेला सरकार भन्दा पनि संसद टिक्ने कि नटिक्ने भन्ने कुरा आउँछ ।’
मुख्यमन्त्री कार्कीले सरकारले विश्वासको मत लिएपछि २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने संविधानको प्रावधानलाई देखाउँदै त्यसपछि पनि आफ्नो सरकार हटाउन खोजे संसद नै विघटन गर्ने संकेत गरे ।
संघीय सरकारको समीकरण फेरबदल भए पनि कोशी प्रदेशको प्रकृति फरक रहेको उनको जिकिर छ । ‘संघ र प्रदेश फरक ढङ्गले चल्छ । अरु प्रदेश र यो प्रदेशको प्रकृति पनि फरक छ । हरेक समीकरणले हरेक सरकारलाई असर गर्छ भन्ने पनि हुँदैन,’ उनले भने, ‘अहिलेको परिस्थिति संघको जुन छ, त्यसले कोशी प्रदेशमा सरकारलाई छुँदैन ।’ दलहरुको अंकको हिसाब किताबले कोशीलाई नछुने उनले प्रस्ट पारे ।
उता, विपक्षी दल एमालेले कार्कीलाई हटाउने आफूहरुको तयारी रहेको बताएको छ । ‘केन्द्रमा सहमति हुने बित्तिकै हामी आफ्नो कदम चाल्छौँ,’ एमाले संसदीय दल कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने ।
कानुनका ज्ञातासमेत रहेका भण्डारीले सर्वोच्च अदालतको २०७८ सालको संवैधानिक इजलासले दिएको फैसलाको नजिरले पनि सरकार बनाउने सम्भावना रहेसम्म जनप्रतिनिधि संस्था विघटन गर्न नपाइने बताए ।