नयाँ दिल्ली । आपसी झगडाका कारण बुवाले विवाहको अघिल्लो रातमा छोराको हत्या गरेका छन् । २९ वर्षीय गौरव सिंघललाई गत बुधबार मध्यरातमा दक्षिण दिल्लीस्थित घरमै उनका बुवाले चक्कुले १५ पटक प्रहार गरेर हत्या गरेका हुन् ।
गौरवको अनुहार र छातीमा १५ पटक छुरा प्रहार गरिएको दक्षिण भारतका वरिष्ठ प्रहरी अधिकृत अंकित चौहानले पुष्टि गरे । गौरवको बिहीबार विवाह हुँदै थियो । घटनामा संलग्न गौरवको बाबु रंगलाल जयपुरबाट बिहीबार नै पक्राउ परेका छन् । यो घटनामा रंगलालका तीन जना साथी पनि संलग्न रहेको खुलेको छ जसलाई प्रहरीले खोजिरहेको छ ।
यसरी दर्दनाक तरिकाले बुवा रंगलालले छोराको हत्या किन गरे भन्ने यकीन भएको छैन । भारतीय सञ्चारमाध्यम इन्डिया टुडेमा प्रकाशित समाचारका अनुसार विवाह नै घटनाको कारण देखिएको छ ।
गौरवले अरुसँगै विवाह गर्न चाहेका थिए । तर आफूहरूले रोजेकै केटीसँग विवाह गर्न गौरवलाई दबाब दिइएको थियो । यही विषयलाई लिएर गौरवको बुवासँग पटकपटक झगडा भएको थियो । गौरवले यसमा असन्तुष्टि जनाएर बुवालाई झापड नै हानेका थिए । त्यसपछि रंगलालले आफ्ना साथीसँग मिलेर छोराको हत्या गर्ने योजना बनाए । योजना अनुसार नै रंगलालले साथीहरूसँग मिलेर गौरवको बिहेको अघिल्लो दिन घरमै उनको हत्या गरे । त्यसपछि रंगलाल घरबाट नगद र गरगहना लिएर भागेका थिए । रंगलाल ५० लाखका गरगहना र १५ लाख नगद लिएर घरबाट भागेको खुलेको छ ।
घटनाबारे तिगरी प्रहरी चौकीमा बिहीबार मध्यरात १२ः३० बजे खबर पुगेको थियो । त्यतिबेला परिवारका सदस्यले गम्भीर घाइते गौरवलाई नजिकैको म्याक्स अस्पताल लगेका थिए । तर, उनलाई डाक्टरले मृत घोषित गरे । घटनाबारे मृतक गौरवका आफन्त जयप्रकाशले भनेका छन्, ‘घर नजिकै बाजा बजिरहेको थियो । हामीले चिच्याएको, कराएको सुनेनौँ ।’
पक्राउ परेका रंगलालले आफूलाई कुनै पश्चताप नरहेको र पहिल्यै गर्नुपर्नेमा ढिलाइ भएको बयान प्रहरीलाई दिएका छन् ।