• फाल्गुन २९ २०८२, शुक्रबार

सत्ता समिकरणका लागि ४ दलबीच ८ बुँदे सहमति, के छ ८ बुँदे सहमतिमा ?

फाल्गुन २१ २०८०, सोमबार

काठमाडौँ । सत्ता समीकरणका लागि ४ दलबिच ८ बुँदे सहमति भएको छ । नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबिच ८ बुँदे सहमति भएको हो ।

राष्ट्रिय आवश्यकता र जनचाहना अनुसार सरकारको कामलाई अझ प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका पक्षमा समान सोच राख्ने दलहरूका बिचमा सहकार्य आवश्यक रहेको महसुस गरी चार दलको संयुक्त सरकार गठन गर्ने निष्कर्षमा पुगिएको सहमतिपत्रमा उल्लेख छ ।

सहमतिपत्रमा सरकारको नेतृत्व नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने उल्लेख छ । यस्तै रिक्त रहेको राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने सहमतिपत्रमा उल्लेख छ । यसैगरी सरकारमा सहभागी भएका दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने र त्यसरी बाँडफाँट गर्दा मन्त्रालयको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने सहमति भएको छ ।

यस्तै सङ्क्रमणकालिन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंज्ञउने गरी सहमति पनि भएको छ ।
यसैगरी संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने समेत सहमतिपत्रमा उल्लेख छ ।

सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूका बिचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने, सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने तथा राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न पनि सहमति जनाइएको छ ।

सहमतिपत्रमा एमालेका अध्यक्ष केपी ओली, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव र रास्वपाका सभापति रवि लामिछानेले हस्ताक्षर गरेका छन् ।