• फाल्गुन २६ २०८२, मंगलवार

रुसमाथि आक्रमण गर्ने जर्मन योजनासहितको अडियो रुसद्वारा ह्याक, जर्मनमा तनाब

फाल्गुन २१ २०८०, सोमबार

मस्को । रुसले जर्मनीमा भएको महत्वपूर्ण बैठकको कुराकानी ह्याक गरेको छ । जर्मनीले पनि यो ह्याकिङ भएको स्वीकार गरेको छ । बैठकमा जर्मन अधिकारीहरूले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने र त्यसको सम्भावित लक्ष्यबारे कुरा गरिरहेका थिए ।

रुसको आधिकारिक आरटी च्यानलले सो भिडियो कन्फ्रेन्सको अडियो सामाजिक सञ्जालमा पोस्ट गरेको छ । यस पोष्टमा जर्मन अधिकारीहरूले केर्च ब्रिजलाई लक्षित गर्ने मिसाइलको बारेमा छलफल गरिरहेका छन् । यो ब्रिजले रुस र क्रिमियालाई जोड्छ ।

रुसी नेताहरूले यो अडियोले रुसका कट्टर दुस्मनहरुले आफ्नो देशमा आक्रमण गर्ने योजना बनाइरहेको कुरा प्रष्ट हुने बताएका छन् । जर्मनीका चान्सलर ओलाफ स्कोल्ट्जले शनिबार उक्त अडियो लिक हुनु धेरै गम्भीर कुरा भएको बताएका छन् । यसको अनुसन्धान गम्भीरता र तीव्रताका साथ भइरहेको उनले बताए ।

‘डा स्पिगल म्यागजिन’का अनुसार यो भिडियो कन्फरेन्स जर्मन सेनाको गोप्य आन्तरिक नेटवर्कमा नभई वेभ एक्स प्लेटफर्ममा भएको थियो । बीबीसी ।