• मंसिर ११ २०८१, मंगलवार

चन्द्रमा दौडमा चिनियाँ

फाल्गुन २१ २०८०, सोमबार

अन्तरिक्षमा मंगलग्रह सबैको चासोको विषय भए पनि आखिर गरिखानका लागि नजिककै उपग्रह चन्द्रमा सबैको निशाना बन्न पुगेको छ । अमेरिका, रूस, चीन, जापान, भारत अहिले चन्द्रमामा आफ्नो पहुँच देखाउने होडमा छन् ।

त्यसैले चन्द्रमामा मानिस पठाउने प्रतिस्पर्धा सबैको ‘निशाना’ मा परेको छ अहिले । अमेरिकाले सन् २०२५ लाई मिसनमा राखे पनि त्यसको तयारी गर्न बाँकी नै छ । चीनले सन् २०३० लाई मिसन वर्षका रूपमा राखेको छ । यो वर्षभित्रै आफ्ना अन्तरिक्ष यात्रीलाई चन्द्रमामा अवतरण गराउने योजना मुताविक काम गरिरहेको पनि सार्वजनिक गरिसकेको छ ।

ल्याण्डर तथा क्रु मोड्युल सार्वजनिक गरेपछि चीन त्यसको निर्माणमा लागिपरिरहेको छ । त्यतिबेलासम्म अन्तरिक्ष यात्री चिनियाँ अन्तरिक्ष यानमा बसेर चन्द्रमा घुम्न पाउने छन् । यो क्रु मोड्युलको नाम मेङझोउ दिइएको छ भने ल्याण्डरको नामचाहिँ लानुई लुनर । यिनका नामको पनि गहिरा अर्थ छन् ।

चिनियाँ राष्ट्रिय भाषामा ‘मेङझोउ’को ‘सपनाको जहाज’ भन्ने अर्थ लाग्छ भने ‘लानुइ’को ‘चन्द्रप्रशंसा’ भन्ने अर्थ लाग्छ । मेङझोउको वर्णन चिनियाँ जनवादी क्रान्तिका अगुवा माओत्सेतुङको कवितामा पनि गरिएको पाइँदा यसले चिनियाँ जनतामा निकै ठूलो हौसलासमेत प्रदान गरेको छ ।

त्यसै गरी लानुइको वर्णन अर्का चर्चित चिनियाँ कवि तथा साहित्यकार ली बाइको कवितामा पाइएको छ । चिनियाँ सरकारले यस्ता नाम जुराउँदा जनमनोभावको निकै ख्याल राख्ने गरेको देखिन्छ । यी भन्दा पहिले चीनले सेनझोउ र तियानझोउ नामक अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरिसकेको पनि छ ।

चीनले आफूले स्थापना गरिसकेको तियाङगोङ अन्तरीक्ष स्टेशनमा अहिले पठाइएका अन्तरिक्ष यान ओर्लने गरिरहेका छन् । हाल यो अन्तरिक्षले स्टेशनले पृथ्वीको तल्लो कक्षमा निरन्तर परिक्रमा गर्दै अस्तित्वमा देखापरिरहेको छ ।

रोचक कुरा के पनि रहेको छ भने चिनियाँ स्पेस एजेन्सी (सीएनएसए)ले यी यानको नाम आमजनताका लागि सुपाच्य र कर्णप्रिय होऊन् भनेर आमजनताका माझमा प्रतियोगिता नै सञ्चालन गरेर व्यापक बनाएको थियो । त्यसैबाट क्रु मोड्युलको नाम मेङझोउ र ल्याण्डरको नाम लानुई दिइएको थियो । यिनका नामको पनि गहिरा अर्थ दिने प्रकृतिका छन् । यी नामको विज्ञले पछि मात्र टुङ्गो लगाएका थिए ।

हाल सार्वजनिक गरिएको मेङझोउमा सातजना अन्तरिक्ष यात्री एकसाथ बसेर अन्तरीक्षको यात्रा गर्न संभव हुने छ । चन्द्र स्टेशनमा त यी यात्रीहरू आरामसँग धितमरून्जेल बस्न पाउने छन् । यो भनेको सगरमाथा पुग्दाको बेसक्याम्प झैं हुने छ ।

त्यो स्टेशनबाट भने यानले ३ जनाका दरले मात्र मानिस चन्द्रमामा ओसार्न सक्ने छ । यसको विस्तार पनि हुने संभावनालाई चिनियाँ अन्तरिक्ष संस्थाले संकेत गरेको छ । तथापि यसका बारेमा विभिन्न परीक्षण तथा प्रयोग हुन र गरिन बाँकी रहेकाले अग्रिम दावा भने गरिएको छैन ।

मात्र के भनिएको छ भने हाल सोच र विचारमा धेरै परिपक्वता आसकेको भए पनि यी यानको निर्माण र उडान भने सन् २०२७ मा मात्र गरिने छ । हाल यी यान निर्माणाधीन अवस्थामा छन् । चिनियाँ एरोस्पेस साइन्स एण्ड टेक्नोलोजी कर्पोरेसनले यी यान निर्माण कार्य अघि बढाइरहेको छ ।

लङमार्च ५ रकेटको स्तरोन्नति र सुधारबाट निर्मित लङमार्च १० रकेटबाट यी यानको प्रक्षेपण हुने कुरा सार्वजनिक गरिएको छ । पृथ्वीबाट यी यान भिन्नाभिन्नै रूपमा प्रक्षेपण गरिने छन् । तर पछि यी चन्द्रमाको कक्षमा गएर एक आपसमा जोडिने छन् ।

 

यही बेलामा अन्तरिक्ष यात्रीहरुलाई ल्याण्डरमा सारिनेछ । अनि यान चन्द्रमाको सतहतर्फ अघि बढ्ने छ । अन्तरीक्षयात्रीलाई बोकेर हिँड्ने २ सय किलोग्राम वजनको क्रू रोवरले त्यहाँ कारजस्तै काम गर्ने छ ।