• मंसिर १४ २०८१, शुक्रबार

मन्त्रीमण्डल हेरफेरको तयारीमा प्रचण्ड, को–को छन् हटाइने सूचिमा ?

फाल्गुन २० २०८०, आईतवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका छन् । त्यसका लागि उनले कांग्रेसबाट हटाइने र थपिनुपर्ने मन्त्रीहरूको सूची सभापति शेरबहादुर देउवासँग मागेका छन् । दाहालले सूची मागेपछि कांग्रेस सभापति देउवाले आफ्नो पार्टीबाट सरकारमा मन्त्री रहेकाहरूसँग छलफल गरेका छन् ।

आइतबार अपराह्न साढे ३ देखि साँझ साढे ६ बजेसम्म चलेको बैठकमा आठ जना मन्त्री सहभागी थिए । यो बैठकमा नेताहरू कृष्ण सिटौला र रमेश लेखक पनि बैठकमा थिए । कांग्रेसबाट अर्थमन्त्री प्रकाशशरण महत र स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत रेडजोनमा रहेका बताइन्छ । प्रधानमन्त्री प्रचण्डकै चाहनामा गृह र अर्थ कांग्रेस–माओवादीबीच साटफेर हुने चर्चा पनि छ । महत क्याबिनेटमा प्रचण्डले नरुचाएका मन्त्रीमध्येका एक हुन् ।

प्रमुख विपक्षी एमाले लगायतका दलहरूले भ्रष्टाचारसहित विभिन्न काण्डमा जोडिएका मन्त्रीहरूको राजीनामा मागिरहेको छ । एमालेसहितका दलहरूको मागबारे सोमबार सदनमा प्रधानमन्त्रीले जवाफ दिने तालिका छ । त्यसकै तयारीस्वरुप प्रचण्डले मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका हुन् ।

उनले दुई युवकको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटनामा मुछिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई पनि फिर्ता बोलाउन एकीकृत समाजवादीलाई आग्रह गरेका स्रोतको भनाइ छ । एसले फिर्ता नबोलाए ज्वालालाई बिनाविभागीय बनाउने तयारी चलिरहेको बालुवाटार स्रोत बताउँछ ।