• जेष्ठ ५ २०८१, शनिबार

भारतबाट तस्करी गरी ल्याएको ५ हजार किलो प्याज बरामद

फाल्गुन १८ २०८०, शुक्रबार

वीरगन्ज । नेपाल प्रहरीले भारतबाट तस्करी गरेर ल्याएर वीरगन्जमा भण्डारण गरी राखिएको ठूलो परिमाणमा प्याज बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका वडा नम्बर ८ मिना बजारमा अनधिकृत रुपमा भण्डारण गरेर राखिएको अवस्थामा ५ हजार २२० किलोग्राम प्याज बरामद गरेको हो । विशेष सूचनाको आधारमा खानतलासी गर्न पुगेको प्रहरीलाई देख्ने बित्तिकै प्याज भण्डारण गर्ने व्यक्ति फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए ।

उनका अनुसार १३३ बोरामा रहेको ५ हजार २२० केजी प्याज बेवारिसे अवस्थामा बरामद गरिएको हो । बरामद प्याज आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको थापाले जानकारी दिए । नेपाल सरकारले गत साउन १ गतेदेखि आलु र प्याजमा भ्याट लगाएपछि भारतबाट तस्करी गरेर प्याजको आयात हुने क्रम बढेको छ ।