• मंसिर १४ २०८१, शुक्रबार

बालेनलाई सांसद सिंहको प्रश्न-फलफूल र तरकारी खुवाउने मधेसीको टाउको किन फटाएको ?

फाल्गुन १८ २०८०, शुक्रबार

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले फुटपाथ व्यापारीहरूलाई त्रसित नगराउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई चेतावनी दिएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य सिंहले काठमाडौं महानगरपालिकाको प्रमुखको दम्भ बढेको बताए ।

उनले काठमाडौंले मधेसका मान्छेका कारणले फलफूल र तरकारी खान पाइरहेको भए पनि मधेसका मान्छेलाई अपमान गरिएको गुनासो गरे । करमा दर्ता गरेर कवाडी व्यवसाय सञ्चालन गर्दा पनि अपमान गरिएको भन्दै सरकारसँग असन्तुष्टि व्यक्त गरे ।

उनले काठमाडौं संघीय राजधानी भएको भन्दै यहाँ संविधानप्रदत्त अधिकारको उपभोग गर्दै सबैले बस्न पाउने बताए ।

‘महानगरका मेयरको दम्भ बढेको छ । श्रमिक, तल्लो वर्गको काम गर्नेले यो देशमा बस्न नपाउने हो ? महानगरमा विकासको एउटा सिन्को नभाँच्ने तर फुटपाथका व्यापारीलाई त्रसित गर्ने ?,’ उनले भने, ‘कहिले व्यापारीको टाउको फुटाउने, कहिले कवाडहरूलाई हटाउने । आज काठमाडौंको मान्छे फलफूल र तरकारी खाइरहेको छ, त्यो मधेसको मान्छेको कारणले हो । तर आज त्यही मधेसको मान्छे अपमानित भइरहेको छ ।’

उनले श्रमिक वर्गलाई अपमान गरिए काठमाडौं कुनै दिन संघर्षको मैदान बन्ने भन्दै संघ सरकार र महानगरपालिकाको नियन्त्रणमा नरहने बताए ।