कुनै मानिसको उमेर ६० वर्षभन्दा बढी भइसकेको छ र बिर्सने बानी पनि बढ्दै गएको छ भने उसलाई ‘डिमेन्सिया’ नामक मानसिक रोग लागेको हुनसक्छ ।
यो रोग लागेपछि सम्झने, आफन्तजनलाई चिन्ने, उनीहरुको नाम सम्झने, सरसफाई, नुहाइधुवाई तथा दिसा–पिसाव गर्ने जस्ता पहिले गर्दै आएका महत्वपूर्ण काम गर्ने शक्ति क्षीण हुँदै जान्छ। यो रोग प्रायः ६० वर्ष उमेरपछि मात्र लाग्छ र जति उमेर वढ्दै गयो डिमेन्सिया हुने सम्भावना बढ्दै जान्छ। प्रायः ६५ देखि ७० वर्ष उमेरका मानिसमा डिमेन्सिया हुने सम्भावना करिब १ प्रतिशत हुन्छ भने ९०–९५ वर्षकालाई यो रोग हुने सम्भावना करिब १० प्रतिशत हुन्छ।यद्यपि, डिमेन्सिया बुढेसकाल लागेकाले हुने रोग होइन, मस्तिष्कमा रोग लागेपछि हुने समस्या हो। मस्तिष्कमा रोग नलागेका ९० वा १ सय वर्षका वृद्धवृद्धामा पनि डिमेन्सियाका लक्षणहरु देखिँदैनन्। यो कुनै नयाँ रोग पनि होइन। आयुर्वेदमा ‘स्मृति भ्रंस’ भन्ने रोग ३ हजार वर्षभन्दा पहिलेदेखि नै छ, जसलाई मेडिकल साइन्सले डिमेन्सिया भन्ने गरेको हो।मस्तिष्कले नयाँ कुरा सिक्ने र सम्झने, कुनै कुरालाई ध्यान दिएर सुन्ने र बुझ्ने, विचार गर्ने र समस्या परेमा समाधानको खोजी गर्ने, ठिक–वेठिक कुराको निर्णय लिने आदि काम गर्छ। त्यसैगरी, हिसाव गर्न सक्ने, आफू कुन ठाउँमा छु, कस्तो अवस्थामा छु, आफ्नो घर÷डेरामा कुन–कुन बाटोबाट र कसरी जान सकिन्छ भन्ने सम्झना राख्ने र आफूले भन्न खोजेको कुरा सही शब्द चयन गरी भन्न सक्ने क्षमता पनि मस्तिष्कमा हुन्छ। तर, डिमेन्सिया रोग सुरु भएपछि यस रोगका लक्षणहरु विस्तारै देखिन थाल्छन् र अलिअलि गरेर बढ्दै जान्छ। रोग बढिसकेपछि यस्ता कार्यहरु मस्तिष्कले गर्न सक्दैन र विभिन्न लक्षण देखिन थाल्छ।