काठमाडौं । माओवादी केन्द्रको सुदूरपश्चिम इन्चार्जबाट हटाइएपछि नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य खगराज भट्टले असन्तुष्टि जनाएका छन् ।
भट्टले बुधबार स्थायी कमिटीको निणर्यप्रति आफ्नो गम्भीर असहमति रहेको बताउँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई चार बुँदामा प्रश्न गरेका छन् ।
‘प्रथम विधान अधिवेशनको दिशानिर्देशलाई लत्याउँदै, सुदूरपश्चिम प्रदेशका हजारौँ कार्यकर्ता र लाखौँ जनसमुदायको आशा र भरोसामाथि बज्रपात गर्दै स्थायी समितिको बैठकबाट गरिएको संगठनात्मक र संसदीय कार्यविभाजन सम्बन्धमा गम्भीर आपत्ति र असहमति व्यक्त गर्दछु’ उनले पत्रमा भनेका छन् ।
स्थायी कमिटी बैठकबाट पारित भएको निणर्यले सुदूरपश्चिममा पार्टीभित्र देखा परेको अराजकतालाई निरुत्साहित नगरेर प्रोत्साहन गर्ने उनको भनाइ छ ।
‘यो निणर्यले पार्टीलाई नै जीवन ठान्ने इमानदार कार्यकर्ताहरूलाई उत्साहित गर्छ या निराशतामा धकेल्छ ?,’ उनले प्रश्न गरेका छन् ।