काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा १५ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेको छ । प्राधिकरणले समीक्षा अवधिमा १५ अर्ब ३६ करोड नाफा कमाएको हो ।
जुन गत आवको सोही अवधिको तुलनामा ४१ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा प्राधिकरणले १० अर्ब ९१ करोड नाफा कमाएको थियो । यो नाफा कर कट्टीअघिको हो ।
प्राधिकरणले ६ महिनामा विद्युत् बिक्री तथा ब्याजमार्फत ६७ अर्ब २८ करोड ७७ लाख आम्दानी गरेको छ । यो आम्दानीमध्ये भारतमा विद्युत् निर्यात गरेर १३ अर्ब ३८ करोड ५६ लाख आम्दानी गरेको छ । देशभित्रै विद्युत् बिक्री गरेर प्राधिकरणले ४५ अर्ब ४९ करोड ३८ लाख आम्दानी गरेको छ ।
प्राधिकरणले विद्युत् आयात तथा खरिदका लागि ५१ अर्ब ९२ करोड ७१ लाख खर्च गरेको छ । प्राधिकरणले समीक्षा अवधिमा भारतबाट १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँबराबरको विद्युत् आयात गरेको छ । समीक्षा अवधिमा प्राधिकरणले निजी आयोजनाबाट २८ अर्ब ४९ करोड ९६ लाखको विद्युत् खरिद गरेको छ ।