काठमाडौं । आइतबार अमेरिकाको वासिङ्टनमा एक अमेरिकी सेनाले ‘स्वतन्त्र प्यालेस्टाइन’ को नारा लगाउँदै आफैमाथि आगो लगाएका थिए । राजधानी वासिङ्टन डीसीस्थित इजरायली दूतावासअगाडि नै ती अमेरिकी सेनाले आफ्नै शरीरमा आगो लगाएका थिए ।
उनको मृत्यु भएको बीबीसीले जनाएको छ । अमेरिकी वायुसेनाका सदस्य २५ वर्षीय एरोना बुसनेलको मृत्यु भएको हो । आइतबार दिउँसो १ बजेको समयमा उनले ट्विच एप्समा लाइभ गर्दै आफैमाथि आगो लगाएका थिए । तर, आत्महत्यालाई प्रोत्साहित गरेको भन्दै उक्त भिडियो हाल हटाइसकिएको छ ।
भिडियो अनुसार उनले गाजा स्ट्रिपमा इजरायली आक्रमणको विरोध जनाएका थिए । ‘म अब गाजामा जारी नरसंहारमा संलग्न हुने छैन । म विरोधको चरम कार्यमा संलग्न हुन लागेको छु,’ आफूलाई आगो लगाउनुअघि उनले भनेका थिए, ‘स्वतन्त्र प्यालेस्टाइन जिन्दावाद ।’ प्रज्वलित इन्धन शरीरमा हालेर आगो लगाएपछि उनको अवस्था निकै गम्भीर बनेको थियो, अन्ततः उनको मृत्यु भयो ।
अमेरिकी सेनाले इजरायली दूतावासकै अगाडि आफूमाथि आगो लगाएर विरोध जनाएपछि यो घटनाले विश्वको ध्यान तानेको छ । अमेरिकाले दुईपटक संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा भिटो शक्ति प्रयोग गर्दै गाजामा युद्धविरामको प्रस्ताव अस्वीकृत गरिरहँदा र गाजामा झण्डै ३० हजार प्यालेस्टाइनी मारिएको अवस्थामा ती अमेरिकी सेनाले गाजामा नरसंहार बन्द गर भन्दै विरोध जनाएका हुन् ।
इजरायली व्यापक हवाई तथा थल आक्रमणमा गाजा स्ट्रिपमा हालसम्म २९ हजार ६०६ प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन् । मारिनेमा १२ हजार ६६० बालबालिका र ८ हजार ५७० महिला पनि छन् । इजरायलतर्फ भने १२ सयले ज्यान गुमाएका छन् ।