लामो समयसम्म शरीरका मांसपेशी, हाडजोर्नी दुख्ने र थकाइ महसुस हुने रोगलाई ‘फाइब्रोमाएल्जिया’ भनिन्छ ।
लामो समय (दीर्घकालसम्म) शरीरभरि नै दुख्ने भएकाले यसलाई ‘क्रोनिक वाइडस्पे्रड पेन’ पनि भनिन्छ । तीन महिनाभन्दा बढी समयसम्म शरीरका विभिन्न अंग दुखिरहेमा फाइब्रोमाएल्जिया भएको हुन सक्छ । यो रोगमा कम्मरभन्दा माथि वा तल (अपर/लोअर हाफ) को भाग वा शरीरको देब्रे वा दाहिने (लेफ्ट÷राइट हाफ) भागमा दुख्छ । यो स्वास्थ्य सम्बन्धी सामान्य समस्या भए पनि धेरै मानिस यसबाट पीडित हुन्छन् । नेपालमा फाइब्रोमाएल्जियाका रोगीको संख्या बारे कुनै पनि तथ्यांक छैन । तर, विश्वको कुल जनसंख्याको ३ देखि ६ प्रतिशत जनसंख्या यो रोगबाट ग्रस्त भएको अनुमान छ । सामान्यतया कुल जनसंख्याको १० प्रतिशत मानिसलाई कुनै न कुनै किसिमको दुखाइ हुन्छ । अन्य देशको तथ्यांकका आधारमा अनुमान गर्दा कम्तीमा ३० लाख जति नेपालीमा शरीर दुख्ने समस्या हुन सक्छ भने करिब १५ लाखलाई फाइब्रोमाएल्जिया हुन सक्छ । यो रोग सम्बन्धमा गरिएका अनुसन्धानले शरीरमा ९ जोर (१८ वटा) टेन्डर प्वाइन्ट (घुँडा, कुहिनो, गर्धन, कुम, छाती र हिपको जोर्नी छेउका भाग) रहेको देखाएका छन् । यी कुनै पनि प्वाइन्टमा थिच्दा अत्यन्त दुख्छ र शरीरको अन्य भागमा समेत फैलन सक्छ । यो रोग प्रायः महिलामा बढी देखिएको छ । २० देखि ५० वर्ष उमेर समूहका महिलामा यो रोग बढी पाइएको छ । तर, यसको अर्थ अरु उमेर समूहका महिला र पुरुषलाई यो रोग लाग्दैन भन्ने होइन । जीवनको उर्वर समयमा यो रोग लाग्ने भएकाले रोगीलाई धेरै दुःख दिन्छ ।
उपचार
बिरामीलाई फाइब्रोमाएल्जियाबारे राम्ररी जानकारी गराउनुपर्छ, परामर्श दिनुपर्छ । यसलाई निको पार्न थेरापी गराउन सकिन्छ । फाइब्रोमाएल्जियाका बिरामीले शारीरिक व्यायाम गर्नुपर्छ ।
यसका बिरामीले प्रसस्त सुत्नु पर्छ । यस्तै चिकित्सकले पनि बिरामीका कुरा सुन्नुपर्छ ।
सम्पूर्ण शरीर दुख्ने बिरामीलाई औषधि दिनुपर्छ । कुनै बिरामीलाई दैनिक औषधि आवश्यक पर्दैन भने कसैलाई निद्रा लाग्ने औषधि चाहिन सक्छ । कसैलाई थकाइ नलाग्ने औषधि दिनुपर्ने हुन सक्छ । बिरामीले मानसिक चिकित्सकसँग परामर्श गर्नु आवश्यक छ ।
यो रोग पीडादायी भएकाले बिरामीलाई मानसिक, शारीरिक र सामाजिक पीडा हुन्छ । यसले जीवनको सबैभन्दा उर्वर समयमा शारीरिक र मानसिक दुःख दिन्छ । बेलैमा पहिचान गरेर उपचार गरे यो रोगको उपचार सहज छ । अहिले नेपालमै यसको उपचार गर्न सकिन्छ । रोगको पहिचान नगरी जथाभावी औषधि खाए समस्या अझै जटिल हुन सक्छ ।
यसको उचित उपचार गर्न बिरामीको कुरा राम्रोसँग सुन्नु पर्छ, बिरामीको सम्पूर्ण शरीर जाँच्नु पर्छ । डाक्टरको उपचारले बिरामीको दुखाइमा त्यति फाइदा गरेको देखिँदैन । यसले शरीरमा कुनै असर गर्दैन, न त आयु नै घटाउँछ तर शरीरका विभिन्न भागमा दुख्ने भएकाले निकै पीडा दिन्छ । नेपालमा यो रोगबारे धेरै जानकारी नभएकाले जनचेतना जगाउन अत्यन्त आवश्यकछ ।