काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रि-बजेटसम्बन्धी प्रस्ताव पेश भएको छ । बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/०८२ का लागि बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।
अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र लयमा फर्किए पनि बाह्य र आन्तरिक समस्याका कारण चुनौतीमुक्त भने भइनसकेको बताएका छन् । सहकारी तथा लघुवित्तीय संस्थामा पनि समस्या देखिएको उनको भनाइ छ ।
‘आर्थिक क्रियाकलापको संरचना र प्रविधिमा आएको परिवर्तनका कारण राजश्व संकलनमा चुनौती थपिएको छ,’ अर्थमन्त्री महतले भने ।
उनले आगामी आर्थिक वर्ष थप एक खर्ब रुपैयाँभन्दा बढी रकम सार्वजनिक ऋणको भुक्तानीमा बिनियोजन गर्नुपर्ने अवस्था रहेको बताए ।
‘सामाजिक सुरक्षालगायत क्षेत्रमा दायित्व थप बढ्दै गएको छ,’ उनले भने । बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे छलफलका लागि फागुन २१, २२, २३, ३० र चैत १, २ र ४ गतेका दिन तोकिएको सभामुख देवराज घिमिरेले जानकारी गराए । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा बोल्न समय दिइनेछ ।