• मंसिर १४ २०८१, शुक्रबार

आज संसदका दुवै सभाको बैठक बस्दै,यस्ता छन् कार्यसूची

फाल्गुन १४ २०८०, सोमबार

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा राष्ट्रियसभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्ती देवी राईले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९–८०’ सभासमक्ष पेस गर्ने कार्यक्रम छ ।

यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा (पार्वती) ले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेस गर्नेछिन् ।

यसैगरी, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सभामा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै आजै प्रतिनिधिसभाको बैठक पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बोलाइएको छ ।

आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ ।

यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
अर्थ मन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी गरिएको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।