• मंसिर ११ २०८१, मंगलवार

रुकुमको काँक्रीमा छायाङ्कन भएको टेलिचलचित्र ‘भुमरी’ प्रदर्शनको तयारीमा

फाल्गुन १३ २०८०, आईतवार

काठमाडौं । करिव दुई दशक अघिको कथावस्तुमा निर्माण भएको सामाजिक टेलिचलचित्र ‘भुमरी’को छायाङ्कन सम्पन्न भएको छ । पश्चिम नेपालको रुकुमपूर्व जिल्लाको भुमे गाउँपालिकाको काँक्री गाउँमा छायाङ्कन भएको चलचित्र ‘भुमरी’ मौलिक कथामा आधारित रहेको यसका निर्माता रमेश बनगोसाइँले जानकारी दिए ।

विशेषगरी ग्रामीण समाजमा हुने पारिवारिक हिंसालाई भुमरीमा चित्रण गरिएको निर्देशक यज्ञजंग विक (आयुस बिसी)ले बताए ।
सामाजिक कथामा उत्कृष्ट काम गरिरहेका यज्ञजंगले यस अघि पनि सिरियलहरूमा नवीनतम काम गरिसकेका छन् । निर्देशक यज्ञजंगले भुमरीमा खलपात्रको भुमिकामा अभिनय समेत गरेका छन् । उनले अभिनय गरेको पहिलो चलचित्र ‘पाठशाला’ हो ।
नेपाली टेलिचलचित्र जगतमा नयाँ, फरक र मौलिक टेलिचलचित्र निर्माण भएको भुमरीका कलाकार पनि दावी गर्छन् ।
मौलिकताको नाममा काठमाडौं वरिपरि नै छायाङ्कन गरेर भिडियो युटुवमा अपलोड गर्ने निर्देशकलाई सुझाव दिँदै निर्माता गोसाइँ भन्छन्,‘नेपाली मौलिकता देखाउनु छ भने पूर्वदेखि पश्चिम नेपालका कुनाकन्दरामा पुग्नुस् । जहाँ कम आर्थिक खर्चले पनि राम्रो र मौलिकतामा आधारित काम गर्न सकिन्छ । हामीले त्यस्तै काम गर्न खोजेका हौं ।’

रुकुमपूर्वको काँक्री गाउँको परिवेशमा निर्माण भएको भुमरीले टेलिचलचित्र क्षेत्रमा नयाँ आयाम ल्याउनेमा गोसाइँ ढुक्क छन् । रुकुमपूर्वको काँक्री गाउँको बेसीदेखि लेक अनि भेडीगोठसम्मका मनमोहक दृश्यमा भुमरीको छायांकन भएको छ । कलाकार तथा लेखक हेमराज घर्ती आफूले लेखेको मौलिक पारिवारिक कथाले दर्शकको मन जित्ने कुरामा विस्वस्त छन् ।
भुमरीमा मुख्य पात्र हेमराज घर्ती र प्रिया ओली हुन् भने राज थापा, सम्झना तामाङ, सरस्वती दाहाल, यज्ञजंग वि.क., चुडामणि पुन, बलबहादुर नेपाली, होमराज थापा लगायत स्थानीय काँक्री गाउँबासीको अभिनय रहेको छ ।
आफ्नै होम प्रोडक्सन साईराम पिक्चर्समार्फत् भुमरी निर्माण गरेका शम्शेर श्रेष्ठ पनि भुमरीका निर्माता हुन् ।

कथा, छायाङ्कन नस्थल र कलाकारको प्रस्तुतिले दर्शकको मन जित्ने कुरामा आफूलाई विश्वास रहेको उनले बताए । सुजन विश्वकर्माले छायाङ्कन गरेको भुमरी साईराम पिक्चर्समार्फत् दर्शकसामु आउँदैछ । हाल सम्पादन कार्यमा भुमरीको टिम व्यस्त रहेको छ । भुमरीको केहीदिनमै प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण पक्ष जुटेको छ ।