• मंसिर १२ २०८१, बुधबार

विश्वकप लिग-२: नेपालद्वारा नेदरल्यान्ड्सलाई १ सय ७३ रनको लक्ष्य

फाल्गुन १३ २०८०, आईतवार

काठमाडौँ । विश्वकप लिग-२ अन्तर्गत जारी सिरिजको नेदरल्यान्ड्सविरुद्धको अन्तिम खेलमा नेपालले १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा अलआउट हुँदै १ सय ७२ रन बनायो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ६६ रनको अर्धशतकीय इनिङ खेल्नु बाहेक अन्य खेलाडीको प्रदर्शन गतिलो रहेन । तर पछिल्लो क्रममा क्रिजमा आएका करण केसी र आरिफ शेखले टोलीलाई केही समाल्दा तुलनात्मक रुपमा प्रतिस्पर्धात्मक स्कोर बनाउन सफल भयो । करणले २६ रन बनाउँदा आरिफले २२ रन बनाए ।

भुर्तेलले आफ्नो करिअरको आठौं अर्धशतक प्रहार गर्दा ९३ बलमा ६६ रन बनाए । उनले ८ चौका प्रहार गरेका थिए। उनी बाहेक आसिफ शेखले १७ रन बनाउँदा कप्तान रोहित पौडेलले १६ रन बनाए । अनिल साहा ७ रनमा आउट हुँदा कुशल मल्ल २ रनमा आउट भए । त्यस्तै दिपेन्द्र सिंह ऐरी १ रनमा रनआउट हुँदा भिम सार्की शुन्य रनमा पेभिलियन फर्किए । त्यस्तै गुल्सन झा ५ रनमा आउट भएका थिए ।

नेदरल्यान्ड्सका लागि भिभियन किङ्गमा र आर्यान दतले समान ३-३ विकेट लिंदा बास डि लिडले २ विकेट लिए । त्यस्तै रोएलफ भान डेर मर्युले १ विकेट हात पारे ।

लिग २ को यो संस्करणको पहिलो श्रृंखलाका रुपमा रहेको प्रतियोगितामा बलिया टोलीहरु नामिबिया, नेदरल्यान्ड्स र नेपालले एक अर्का विरुद्ध खेल्दै सिरिजको सुरुवात भएको हो ।

नामिबियाले सिरिजमा सबै चारै खेल खेल्दै तीन खेलमा जित निकालेर च्याम्पियन बनिसक्दा नेपाल र नेदरल्यान्ड्सले समान १-१ जित निकालेका छन् । दुबै टोली अन्तिम खेल जित्दै सिरिजको सुखद अन्तको प्रतिक्षामा छन् ।