• मंसिर १४ २०८१, शुक्रबार

अब कस्तो राजनीतिक व्यवस्था अपनाउने ?

फाल्गुन १२ २०८०, शनिबार

राजाको भूमि सम्बन्धि नीति सामन्तका स्वार्थहरुको रक्षा गर्ने खालको र औद्योगिक नीति विदेशी पुँजी देशमा भित्र्याउने खालका हुन्छन् । हाम्रो औद्योगिक नीतिलाई स्पष्ट गर्दै राजा भन्छन् :-
‘प्रतिरक्षाको उद्योगलाई छोडी अन्य सबै क्षेत्रमा मेरो सरकारको नीति राष्ट्रिय तथा वैदेशिक व्यक्तिगत पुँजीलाई लगानी गराउन उत्साहित गर्ने नीति हो ।’
राजा महेन्द्रको औद्योगिकरणको यो नीति स्वतन्त्र राष्ट्रिय अर्थ व्यवस्थाको निम्ति चल्नु पर्ने जस्तो भारतीय एकाधिकार पुँजीको प्रभुत्वलाई तोड्ने, सम्राज्यवादी घुसपैठलाई रोक्ने नभइ उनीहरुलाई नै देशको आर्थिक जीवनमा प्रवेश गराउने नव-उपनिवेशवादी नीतिको अन्तर्गत रहेको छ ।

वैदेशिक नीति गृह नीतिकै प्रतिबिम्ब हो भन्ने लेनिनको माहानवाणीलाई महेन्द्रको जालसाँजीपूर्ण विज्ञप्तिको ओतमा बिर्सन हुन्न ।…..तर कुनैपनि शोषक वर्गको वैदेशिक नीति अन्तर्राष्ट्रिय शोषक र प्रतिक्रियावादीहरुसँगको वैदेशिक नीतिसँग नै तालमेल खान्छ र त्यसैपट्टी झुकेको हुन्छ । यो ध्रुवसत्य कुरा हो । अतः राजाका विभिन्न घोषणाहरुको बाबजुद उनको वैदेशिक नीति अन्तराष्ट्रिय साम्राज्यवाद र प्रतिक्रियावादी पक्षमा नै रहँदै आएको छ तर नेपालको फौज र प्रशासनमा नेपालमा जन्मे हुर्केका भए पनि दिल र दिमाग अमेरिकीकरण भएका व्यक्तिहरुको संख्या बढाउँदै छन् ।

यसबाट स्पष्ट हुन्छ कि जुन मात्रामा नेपालमा जनवादी आन्दोलन बढ्ने छ, त्यसमा पनि खास गरि किसान आन्दोलन बढनेछ, त्यही मात्रामा उनको वैदेशिक नीति झनझन साम्राज्यवादी र प्रतिक्रियावादीहरुको पक्षमा जानेछ ।

निचोडमा राजाको औद्योगिक नीतिमा विदेशी पुँजीलाई रोक्ने नभई देशमा नव-औपनिवेशिक आर्थिक व्यवस्था निर्माण गर्ने रहेर आएको छ । ….यसको वैदेशिक नीति वास्तवमा अन्तर्राष्ट्रिय प्रतिक्रियावादसँग बढी भन्दा बढी सहुलियत प्राप्त गर्ने मात्र भएर आएको छ । सिद्धान्ततः उनीहरुसँग साँठगाँठ बढाई देशको राष्ट्रिय जनवादी आन्दोलनलाई दबाउने र विश्वमा कम्युनिष्ट विरोधी मोर्चालाई बल पुर्याउने नीतिमा मुख्यतया आधारित छ । (क.पुष्पलाल (नयाँ जनवादी कार्यक्रमबाट ।)

गृह नीति अनुसारको परराष्ट्र नीति हुन्छ । गृह नीति सामन्तवाद परस्त भएपछि त्यसको परराष्ट्र नीति पनि सवतः अमेरिकी तथा युरोपीयन साम्राज्यवाद परस्त हुनु स्वभाविकै हो । संसदवादको जन्मदाता बेलायत हो । यो र यससँग नजिक रहेका देशहरुले मनी र मसल्सबाट जित्न सकिने संसदीय निर्वाचनबाट गठन हुने निर्वाचित सांसदहरुबाट निर्वाचित सेरोमोनियल राष्ट्राध्यक्ष र कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरेको छ । तर अमेरिकाले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गरेको छ ।

तर दुवैले साम्राज्यावादको नै पक्षपोषण गर्दछन् । नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेशन nato मा सामेलहुँदै विश्व भरका कम्युनिष्ट र स्वतन्त्र रुपले बाँच्न चाहने राष्ट्र र जनताको विरुद्ध मोर्चाबन्दी गरि आफ्नो साम्राज्यवादी नीति फैलाइरहेका छन् । गत सोह्र महिना देखि रुस र उक्रेनसँग भैइरहेको युद्ध यसैको पराकाष्टा हो ।

अमेरिकाको नेतृत्वमा भएको  nato सम्मिलित देशका शासकहरुले युक्रेनलाई उकासेर रुसका विरुद्ध युद्ध भड्काएको भन्ने जान्दाजान्दै नेपालको संसदीय पद्धति अपनाएका साम्राज्यवाद परस्त राजनीतिक शक्तिले संयुक्त राष्ट्र संघमा युक्रेन र रुसको पक्ष र विपक्षमा भोटिङ्गहुँदा नेपालले अमेरिकी साम्राज्यवादको इसारामा युक्रेनको पक्षमा मत हाली आफूलाई साम्राज्यवाद परस्त शक्ति हौं भन्ने सावित गरि सकेका छन् ।

बेलायती साम्राज्यवादले अढाई सय वर्ष शासन चलाएर जनताको मष्तिष्कमा गुलामीको अमिट छाप छोडेर गएको भारतका शासक वर्गले अपनाएको बेलायती मोडलको संसदीय पद्धतीको नक्कल गरि नेपालका संसदवादी दलहरु जनतालाई भ्रम छर्न यदाकदा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीको धाक लगाउने पनि गरेका छन् । तर देशको सामन्तवाद साम्राज्यवाद तथा भारतीय एकाधिकार पुँजीवादी आर्थिक, सामाजिक, साँस्कृतिक अवस्थालाई जोगाई राख्ने सामन्ती अर्धसामन्ती तथा भारतीय एकाधिकार पुँजीवादी ऐतिहासिक अवस्था रहुन्जेलसम्म शासकीय स्वरुपमा वंश, पात्र वा तरिका मात्र हेरफेरले नेपाली जनताले हजारौं वर्षदेखि भोग्दै आएको सामन्ती, साम्राज्यवादी तथा भारतीय एकाधिकार पुँजीवादी शोषण अन्याय अत्याचार र थिचोमिचोबाट मुक्ति पाउन सकिने छैन ।

त्यसैले क.पुष्पलालको नीति र सिद्धान्तलाई छोडेर कम्युनिष्ट आन्दोलन सोच्नु कम्युनिष्ट आन्दोलनलाई धोका दिनु हो ।
‘कार्यकर्ता राजनीतिकरुपले चेतनशील हुनु पर्दछ, जनता संगठित हुनुपर्दछ, क्रान्ति अवश्याम्भावी छ, यस्लाई कसैले रोकेर रोकिन्न ।’ यो भनाई आफ्नो मृत्युको केही क्षण अगाडि क. पुष्पलालले व्यक्त गर्नु भएको उहाँको अन्तिम उद्गार हो ।

त्यसैगरि नेपाल क्युनिष्ट पार्टीको स्थापना र यसको प्रथम घोषणापत्रको बारेमा प्रष्ट पार्दै क पुष्पलाल लेख्नु हुन्छ,‘द्वितीय विश्वयुद्ध पछि समस्त एसियाली देशहरुमा मजदुर वर्गको नेतृत्वमा देशीय सामन्तवाद, सम्झौतावादी पुँजीवाद र विदेशी प्रभुत्वको विरुद्ध क्रान्तिकारी संघर्ष भइरहेको बेलामा हाम्रो देशका पुँजीवादी पार्टीहरुले देशीय सामन्तवाद र अन्तर्राष्ट्रिय प्रतिक्रियावादसँग साँठगाँठ गरि देशमा उठ्दो जनअन्दोलनलाई आफ्नो स्वार्थको निमित्त प्रयोग गर्न लाग्दा त्यसको विरोध गरि १५ सेप्ट्बर १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टीको गठन प्रवासमा भएको हो ।

हाम्रो देशको ऐतिहासिक स्थिति सामन्ती तथा अर्धसामन्ती भएको हुँदा हाम्रो मुख्य समस्या कृषि समस्या हो । यस सामन्ती बन्धनलाई तोड्नु हाम्रो सबभन्दा प्रथम कर्तव्य भएर आएको छ । यसलाई तोडि नयाँ जनवादी नेपालको निर्माणको संघर्षमा लम्कँदा हामीले केवल देशका सामन्त वर्गको मात्र होइन बरु नेपालकै सम्झौतावादी पुँजीपती, भारतीय एकाधिकार पुँजीवाद र अमेरिकाको नेतृत्वमा संगठित भएको अन्तराष्ट्रिय प्रतिकृयावादको कडा प्रतिरोधको सामना गर्नु पर्नेछ । हिजो पनि नेपालको मुख्य समस्या यही थियो र आज पनि नेपालको मुख्य समस्या यही छ र नेपालमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न नहुन्जेलसम्म पनि नेपालको मुख्य समस्या यहीनै रहने छ । यस समस्याको समाधानको निमित्त एक स्पष्ट कार्यक्रम नेपाल कम्युनिष्ट पार्टीले आफ्नो जन्मको साथै जनताको समक्ष ल्यायो ’ भन्नु भएको छ । यसले नेपाल कम्युनिष्ट पार्टी र यस्को लक्ष र उदेस्यको बारेमा प्रष्ट पारियको छ ।

सामन्त वर्गको राष्ट्रिय र अन्तराष्ट्रिय सम्बन्धको बारेमा क पुष्पलाल लेख्नु हुन्छ :- ‘सयौं वर्षदेखि चल्दै आइरहेको सामन्ती शोषणले गर्दा नेपालको सर्वसाधारण जनता खास गरेर किसान वर्ग साह्रै नै पीडित, दुःखित तथा नाङ्गो हुन गएको छ । यस शोषणलाई कायम राख्नको निमित्त नेपालको सामन्त वर्गले आफ्नो राज्ययन्त्रको ताकतलाई पूणर्रुपले सामन्ती शोषण विरोधी जनसमुदायको दमनको निम्ति प्रयोग गरिरहेको छ ।

यसलाई झनै बलियो पार्न अन्तर्राष्ट्रिय पुँजीवाद, खास गरेर भारतीय एकाधिकार पुँजीवाद तथा अमेरिकी साम्राज्यवादलाई हाम्रो राष्ट्रिय आर्थिक, राजनीतिक तथा साँस्कृतिक जीवनमा प्रवेश गराएको छ । यसरी दरवारद्वारा नेतृत्व गरिएको नेपालको सामन्त वर्ग तथा अन्तराष्ट्रिय पुँजीवाद, खास गरेर भारतीय एकाधिकार पुँजीवाद तथा अमेरिकी साम्राज्यवादद्वारा भइरहेको शोषणले गर्दा हाम्रो देशको सामाजिक स्थितिले गर्दा आज पनि हाम्रो देश अर्धऔपनिवेशिक तथा अर्धसामन्ती छ ।’

यसरी क. पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना र यसको क्रान्तिकारी सिद्धान्तले पनि पार्टीलाई समृद्द पार्नु भएको छ । हामीले तत्कालिन भौतिक स्थितिमा आएका मात्रात्मक अवस्थालाई मूल्याङ्कन गरि कार्यनीति अध्यावधि (संशोधन होइन) गर्नुको अलावा कार्यक्रम (रणनीति)मा प्रश्न उठाउने आवश्यकत्ता छैन ।

आज दुइतिहाई जनता कम्युनिष्ट नामको झण्डा र व्यानर बोकेका दलहरुको समर्थनमा छन् । देशको सम्झौतावादी पुँजीवादी तप्का र कम्युनिष्ट नामको झण्डा र व्यानर बोकेर क पुष्पलालको नीति सिद्धान्त र कार्यक्रमको विरोध गरेर जो जो नेताहरुले सामन्तवाद र यस्को नाइके राजा र राजतन्त्रको भित्री र वाहिरी रुपले समर्थन गरे तिनीहरु राजतन्त्र समाप्त भएपछि आज सोतः अन्तराष्ट्रिय प्रतिक्रियावादसँग साठगाँठ गर्न गएका छन् । mcc को संसदीय अनुमोदन र भारतसँग भएको असमान सन्धि सम्झौताले यही कुराको पुष्टि गर्दछ । अझ फेरिपनि क. पुष्पलालको नीति, सिद्धान्त र कार्यक्रमलाई छोडेर नेपालमा कम्युनिष्ट आन्दोलनको विकास होला भनेर सोच्नु र कल्पना गर्नु कम्युनिष्ट आन्दोलनलाई पुनः धोका दिनु मात्र हो ।
आज यो देशको सरकारले एकातिर देशभित्रका जग्गा बाँझै पारेर भएपनि सामन्तको स्वामित्वलाई रक्षा गरेर बसेको छ । अर्कातिर जनताले सामन्तहरुका विरुद्ध विद्रोह नगरुन् भनेर देशका काम गरिखाने जनतालाई देशभित्र काम नदिइ विदेश जान बाध्य पारेको छ ।

हो, त्यसैले सामन्तको स्वामित्वमा रहेको सम्पूर्ण जग्गा राष्ट्रियकरण गरि ती विदेश जान बाध्य पारिएका श्रमजीवी जनतालाई वितरण गरि देशभित्रै काम दिएर देश विकास गर्नु पर्छ । अनि मात्र हाम्रो देश आत्मनिर्भर(धनी) हुन्छ भनेको हो । हाम्रा हाजारौं दाज्यु, भाई दिदीबैनीहरु आफ्नो देशमा काम नपाएर विश्वका कठिनतम् श्रम शिविरमा काम गर्दा दुःख पाएका घटनाले हामी सबैको मन दुख्नु पर्दछ । कत्तिको त घरबारै पनि बिग्रिएको छ । युवाहरु बाकसमा प्याक भएर आएका घटना झन् कति काहालीलाग्दा छन् ।

अब कामको लागि विदेश जानु नपर्ने राजनीतिक व्यवस्थाको खोजी गर्नु पर्दछ । त्यो व्यवस्था भनेको नेपाल कम्युनिष्ट पार्टी (१५ सेप्टेम्बर १९४९) ले अपनाएको नयाँ जनवादी व्यवस्था हो । यस व्यवस्थाले मात्र देशलाई सामन्तवाद, साम्राज्यवाद तथा भारतीय एकाधिकार पुँजीवादवाट देशलाई मुक्त गर्दै सामन्ती स्वामित्वमा रहेका सम्पूर्ण जग्गा राष्ट्रियकरण गरि सो जग्गाको स्वामित्व किसानलाई हस्तान्तरण गरि देशभित्रै रोजगारी प्रदान गरि जनताको क्रयशक्ति विकास गरि आत्मनिर्भर गराउने र देशमा लगानी भएको विदेशी पुँजीलाई राष्ट्रियकरण गरि स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको निर्माण गरि औधोगिकरणको माध्यबाट समाजवादको आधार तयार गर्ने व्यवस्था मात्रै देशको हित गर्ने राज्य व्यवस्था हो ।
सन्दर्भ सामग्री : पुष्पलालका रचनाहरु ।