काठमाडौं । काठमाडौं महानगरपालिकाले फोहरको उचित व्यवस्थापन गर्नका कम्पोष्टिङ एरिया बनाएको छ । टेकुमा रहेको डम्पिङ साइटमा गत माघ २१ गतेबाट महानगरको २७ नम्बर वडाबाट संकलित कुहिने फोहरलाई कम्पोष्ट मल बनाउने प्रक्रियामा राखिएको छ ।
यसका लागि महानगरले वडा नं. २७ बाट संकलन गरिएको करिब १४ हजार केजी जैविक टेकु ट्रान्सफर स्टेसनमा कम्पोष्टिङ गरेको हो ।
काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठका अनुसार टेकु र बन्चरेडाँडामा कम्पोष्ट मल बनाउने प्रक्रिया सुरु भएको छ । महानगरपालिका भित्रको फोहोरको प्रभावकारी व्यवस्थापन गर्न महानगरले यसअघि नै वर्गीकरण गरिएको फोहर मात्रै उठाउने निणर्य गरेको थियो तर प्राविधिक तयारी नभएको भन्दै पछि महानगर आफै पछि हटेको थियो ।
वातावरण विभाग प्रमुख श्रेष्ठ भन्छन्, ‘महानगरबाट उत्पन्न हुने फोहरको वर्गीकरण गरेर कम्पोष्टिङ एरियासम्म पुर्याउन बेग्लै तयारी गर्नुपर्ने हुन्छ । सवारी साधन बेग्लै चाहियो, फोहर कलेक्सन गर्ने ठाँउको पनि महानगरलाई अभाव छ । प्राविधिक व्यक्ति पनि थप व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसैले पनि कम्पोष्ट मल बनाउने प्रक्रिया हामीले पालैपालो गर्देछौं । अहिले महानगरको २७ वडाबाट सुरु गरिएको हो ।’
२७ नम्बर वडाका बासिन्दाबाट उत्पादन भएको फोहर अहिले वर्गीकरण गरेर मात्रै महानगरले उठाउने गरेको छ । उक्त वडामा वर्गीकरण नभएका फोहर नउठाइने श्रेष्ठले जानकारी दिए ।
महानगर वातावरण विभागकी उपनिर्देशक सानुमैया मर्हजनका अनुसार २७ नम्बर वडामा १४ सय घरधुरी र ५ हजार जनसंख्या छन् । उक्त वडाबाट एक दिनमा ५०० केजी जैविक फोहोर उत्पादन हुन्छ । ३५ सय किलो जैविक फोहोरको एक पाइल बनाएर ४ पाइलमा १४ हजार केजी कम्पोष्ट मल तयारीको लागि प्रक्रिया सुरु गरिएको हो ।
उपनिर्देशक मर्हजनका अनुसार कम्पोष्ट मल बनाउने प्रक्रियामा राखिएको फोहोरलाई गन्धरहित बनाउनको लागि टोकोजाई नामक व्याक्टेरिया मिसाउने गरिन्छ । यो व्याक्टेरियाले फोहोर कुहिएर लिचेड निस्कन नदिने मर्हजनले बताइन् । यसरी कलेक्सन भएको फोहोरबाट २५ देखि ३० प्रतिशत मात्रै कम्पोष्ट मल बन्नेछ ।
फोहोरलाई स्रोतमा वर्गीकरण गर्न थालेपछि जम्मा भएको फोहोरलाई छुट्टै संकलन गर्न थालिएको छ । ढुवानी र व्यवस्थापन पनि छुट्टा-छुट्टैरुपमा गर्ने गरिएको छ । वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठ भन्छन्, ‘केही समय अगाडिदेखी नै महानगरको फोहर वर्गीकरण गर्ने भनिए पनि कम्पोष्टिङ गर्न ठाँउ तोकिएको थिएन । तर अब टेकु र बन्चररेडाँडामा पनि कम्पोष्ट मल बनाउने तयारी गरेका हौं । सुरुवातमा २७ वडा अनि १२ नम्बर वडा ५ र ६ नम्बरमा पनि क्याम्पियनहरु भैरहेको उनले बताए ।
श्रेष्ठले जैविक फोहर कम्पोष्टिङ गर्नलाई महानगरसँग प्रशस्त जग्गा नभएको बताउँदै पहिलो चरणमा टेकु अनि क्रमस सिसडोल र बन्चरेडाँडामा पनि राख्ने तयारी रहेको बताए । महानगरले क्रमिक रुपमा सबै ठाँउमा फोहरको वर्गीकरण गरेर मात्रै संकलन गर्ने उनले बताए ।
उनका अनुसार जैविक फोहोरबाट उत्पादन भएको कम्पोष्ट मल महानगरकै पार्क, तथा सडकका छेउछाउमा रहेका बोटविरुवामा प्रयोग गरिनेछ । आवश्यकताभन्दा बढी उत्पादन गर्न सकिएमा कम्पोष्ट मल बिक्री वितरण गरिने उनले बताए । आफ्नो एरियालाई हरियाली बनाउने महानगरको योजना रहेको श्रेष्ठले बताए ।
उनी भन्छन्, ‘निकै अगाडिदेखि महानगरको फोहोर फाल्ने डम्पिङ साइट रहेको बन्चरेडाँडा र सिसडोलमा पनि वृक्षारोपण गर्न तयारीमा महानगर छ । यसका लागि महानगरले पानीको व्यवस्थापन गरिसकेको छ । महानगरमा हरेक दिन उत्पादन हुने फोहोरमध्ये ४० देखि ५० प्रतिशत जैविक फोहर हुन्छ । पुनः प्रयोग गर्न सकिने फोहोरजन्य सामाग्री पनि बेग्लै संकलन गरिने श्रेष्ठले जानकारी दिए ।