काठमाडौं । कांग्रेस सांसद चन्द्र भण्डारीले देशको गलत आर्थिक नीतिका कारण अर्थ व्यवस्था सीमित व्यक्तिको हातमा गएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद भण्डारीले देशको आर्थिक नीति गलत भएको बताएका हुन् । उनले गलत आर्थिक नीतिका कारण देशको समग्र अर्थ व्यवस्था नै सीमित व्यक्तिहरूको हातमा पुगेको बताए ।
एकै व्यक्तिको हातमा बैंक, उद्योग, बीमा, अस्पताल, विद्यालय, जलस्रोतको लाइसेन्स लगायत सबै कुरा रहेको भन्दै सांसद भण्डारीले यसले अर्थतन्त्र सीमित व्यक्तिको कब्जामा पुर्याएको बताए । उनले विकास निर्माणका काम पनि लथालिङ्ग रहेको र काम नहुँदा कानुनी कारबाहीसम्म नहुने अवस्था रहेको बताए । सांसद भण्डारीले अर्थ व्यवस्थाको सम्बन्धमा संवेदनशील हुनुपर्ने अवस्था आएको बताए ।
‘अर्थ व्यवस्था किन १०/१२ जनाको हातमा छ । तिनै व्यक्तिको हातमा बैंक छ, उद्योग छ, बीमा छ । उसैको हातमा जलस्रोतको लाइसेन्स छ । उसैको हातमा हस्पिटल छ । उसैको हातमा स्कुल छ । उसैको हातमा जमिन खन्ने लाइसेन्स छ । अब यो देश कसरी बन्छ ? एउटा सरकारले चाहेर, सरकारले गर्छु भनेर त्यहाँबाट कसरी निस्किन सक्छ ?,’ उनले भने, ‘हाम्रो गलत आर्थिक नीतिका कारण सीमित व्यक्तिको हातमा अर्थ व्यवस्था गयो ।’
सांसद भण्डारीले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पारित गरिएको लिम्पियाधुरा, लिपुलेक, कालापानीको भूभाग समेटिएको चुच्चे नक्सा परराष्ट्र मन्त्रालयको दराजबाट बाहिर निस्किन नसकेको बताए । उनले नेपालभित्र नेपाली खोज्नुपर्ने र चिन्नुपर्ने अवस्था आएको टिप्पणी गरे ।
सांसद भण्डारीले किसानका नाममा अनुदान अरुले नै खाने गरेको भन्दै तिनीहरूलाई के गर्ने भनेर प्रश्नसमेत गरे । उनले नेपाली कपडा मात्र लगाउने नीति बनाउन सके राज्यको अर्बौं रुपैयाँ बच्ने बताए ।