• मंसिर १३ २०८१, बिहीबार

७ महिनामा नेपाललाई ८ खर्ब ११ अर्ब वैदेशिक व्यापार घाटा

फाल्गुन ९ २०८०, बुधबार

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ७ महिनाको अवधिमा नेपालले वैदेशिक व्यापारमा ८ खर्ब ११ अर्ब रुपैयाँ घाटा बेहोरेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि माघ महिनासम्मको अवधिमा ८ खर्बभन्दा बढीको वैदेशिक व्यापार घाटा बेहोरेको हो ।

गत आर्थिक वर्षको यही अवधिको तुलनामा १.७७ प्रतिशतको गिरावट हो । गत आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा नेपालले ८ खर्ब २५ अर्बभन्दा बढीको व्यापार घाटा बेहोरेको थियो । यो चालू वर्षको तुलनामा १३ अर्बभन्दा धेरै हो ।

यस्तै, यस अवधिमा नेपालले विदेशबाट ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको आयात गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा २.३१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालमा ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँको आयात भएको थियो । यो चालू वर्षको तुलनामा २१ अर्बभन्दा धेरै आयात हो ।

यसबाहेक, ७ महिनाको अवधिमा निर्यात व्यापारमा ७.०७ प्रतिशतको गिरावट आएको छ । तथ्यांक अनुसार यस अवधिमा नेपालबाट ८६ अर्ब ८३ करोड रुपैयाँको निर्यात भएको छ । गत वर्षको यही अवधिमा नेपालबाट ९३ अर्ब ४३ करोड रुपैयाँभन्दा धेरैको निर्यात भएको थियो । जुन, चालू वर्षको तुलनामा ६ अर्ब रुपैयाँले बढी हो ।

आयात र निर्यात नै घटेपछि ९ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँको कूल वैदेशिक व्यापार भएको छ । गत आर्थिक वर्षको यही अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड रुपैयाँको कूल वैदेशिक व्यापार भएको थियो । तथ्यांकअनुसार गत आर्थिक वर्षको ७ महिनाको अवधिको तुलनामा यो वर्ष कूल वैदेशिक व्यापार २.७५ प्रतिशतले खुम्चिएको छ ।