काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठक ललितपुरको च्यालसलमा भइरहेको छ । बैठक शुरु अघि सबै केन्द्रीय सदस्यलाई मोबाइल स्वीच अफ गर्न र साइलेन्समा राख्न भनियो । धेरै केन्द्रीय सदस्यले पार्टीको नियम पालना गरे । केहीको मोबाइलको घण्टी भने बजिरह्यो ।
बैठकलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने शुरु गरे । तर केन्द्रीय सदस्यको मोबाइलको घण्टी एक पछि अर्को गर्दै बज्न थालेपछि ओलीले सम्बोधन गर्दागर्दै केन्द्रीय सदस्यलाई झपारे ।
‘मैले साथीहरूलाई यसअघि स्वीच अफमा राख्न आग्रह गरेको छु । किन मोबाइल एक छिन नहुँदा केही हुन्छ र ?’, ओलीले बैठकमा भने, ‘मसँग मोबाइल छैन त, चलेकै छ । कराउन दिने हो मुख बन्द नगर्ने हो भने त मेरो मोबाइल पनि कराउन जान्दछ होला नि ?’
उनले बैठकमा अनुशासन कायम नगरेको भन्दै आक्रोश व्यक्त गरे । ‘बैठकमा मोबाइल साइलेन्स मोडमा राख्नुस् या स्वीच अफ गर्नुस्’, उनले भने, ‘हामी सबैले बैठकमा एउटा अनुशासन त राख्नुपर्छ । फोन आइराख्ने, उठाइराख्ने अनि हेलो के छ भन्दै गर्ने हो भने के हुन्छ ?’
यो कार्यलाई रोक्न भन्दै ओलीले दुई पटकसम्म केन्द्रीय सदस्यलाई च्यासलमा आयोजित बैठकमा सचेत गराएका थिए ।