रौतहट । नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले नेपाली कांग्रेसले आफ्नो इतिहास गुमाइसकेको बताएका छन् ।
रौतहटको गरुडामा आयोजित एमालेको १० औ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण कार्यक्रममा सोमबार सचिव भट्टराईले कांग्रेसले आफ्नो सिद्धान्तलाई पाखा लगाएर पार्टी नीतिलाई संकटमा पारेको आरोप लगाए ।
सचिव भट्टराईले विचार नमिल्ने माओवादी तथा मधेसवादीसँग गठबन्धन गरेर कांग्रेसले आफ्नो अस्तित्व समाप्त पारेको बताए । चुनावपछि सरकार बनाउन गठबन्धन गर्नु स्वाभाविक भएपनि एमालेलाई सिद्ध्याउने कसम खाएर गठबन्धन गर्नु राम्रो नभएको उनले बताए । सचिव भट्टराईले अब पार्टीको संगठन बलियो बनाएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।