• मंसिर १४ २०८१, शुक्रबार

युक्रेनलाई हतियार नदिए हामीले रुसलाई सहयोग गरेजस्तो हुनजान्छ : जो बाइडेन

फाल्गुन ४ २०८०, शुक्रबार

फागुन ४, किएभ । अमेरिकाले युक्रेनको आभ्दिब्का शहर रुसी सेनाको कब्जामा जान लागेको भन्दै युक्रेनलाई सक्दो हतियार सहयोग दिनुपर्ने बताएको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बीले भनेका छन्, ‘युक्रेनी थल सेनाको हतियार समाप्त हुँदै गएको छ, जसका कारण उनीहरूले आभ्दिब्का गुमाउँदै छन् । रुसी सेनाले युक्रेनको अपर्याप्त हतियारको फाइदा उठाउँदै धेरैभन्दा धेरै सेना त्यहाँ पठाइरहेको छ ।’

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने युक्रेनी जनताको जीवन रक्षाका लागि सबै उपाय अपनाउने प्रतिक्रिया दिएका छन् । पछिल्लो समय अमेरिका र इयूले युक्रेनलाई दिने भनिएको सैन्य सहयोग अस्वीकृत भएका थिए ।

अमेरिकी सिनेटले युक्रेनलाई दिने भनिएको ६१ अर्ब डलरको सहायता प्याकेज अस्वीकृत गरेको थियो भने इयूमा ५५ अर्ब डलरको सहायता रोकिएको थियो । यस्तोमा नेटो प्रमुख जेन्स स्टोल्टनबर्गले अमेरिकाबाट सहयोग नभएपछि युद्ध मैदानमा युक्रेन कमजोर भएको टिप्पणी गर्छन् ।

तर, पछिल्लो समय अमेरिकी सिनेटले युक्रेनलाई प्रदान गर्ने भनिएको ६० अर्ब डलरको सहायता भने स्वीकृत भएको छ । यद्यपि अमेरिकी प्रतिनिधिसभाका प्रमुख माइक जोन्सनले युक्रेनलाई गर्ने भनिएको सहयोगको विषयलाई संसदको सूचीमै नराख्ने चेतावनी दिइरहेका छन् ।

अमेरिकी आप्रवासन समस्यालाई हल गरेर अन्य विषयमा ध्यान दिनुपर्ने उनी बताउँछन् । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रतिनिधिसभाबाट ६० अर्ब डलरको सहयोग पारित हुनैपर्ने बताएका छन् ।

युक्रेनलाई अमेरिकाले समर्थन नगरे त्यो रुसलाई सहयोग गर्नुसरह रहेको र इतिहासले यो विषय कहिल्यै नभुल्ने उनी बताउँछन् । बाइडेनले युक्रेनको पक्षमा मतदान गर्न सबै सांसदलाई अपिलसमेत गरेका छन् ।

बाइडेनले भनेका छन्, ‘युक्रेनलाई यो समय मद्दत मिलेन भने इतिहासले यो विषय याद राख्नेछ । यो विधेयकलाई समर्थन गर्नुको अर्थ तपाईं-हामी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध खडा छौँ भन्ने हो । यदि तपाईं-हामीले यसमा समर्थन जनाएनौँ भने यसको मतलब हामी पुटिनको इशारामा चलिरहेको छौँ भन्ने हुन्छ ।’