जोमसोम । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गतका ८ वटा सामुदायिक विद्यालयमध्ये ६ वटा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या ज्यादै न्यून छ ।
भौगोलिक रुपले विकट स्थानमा रहेको सो पालिकाका ६ वटा सामुदायिक विद्यालयमा शिक्षक, बालविकास सहजकर्ता र कार्यालय सहयोगी गरी १५ जना जनशक्ति कार्यरत छन् ।
पालिका अन्तर्गत कुनै विद्यालयमा बढीमा १३ जना विद्यार्थी छन् भने कुनै विद्यालयमा जम्मा २ जना मात्र विद्यार्थी रहेको पाइएको छ । भौगोलिक विकटताका कारण विद्यालय मर्ज गरी पठनपाठन सञ्चालन गर्न नसक्ने अवस्था रहँदा ती विद्यालयको शैक्षिक गुणस्तर उकास्न समेत समस्या पर्ने गरेको छ ।
६ वटा सामुदायिक विद्यालयमा प्रत्येकमा (एक-एक) जना गरी ६ शिक्षक, ३ जना बालविकास सहजकर्ता र ६ जना कार्यालय सहयोगी कार्यरत रहेको गाउँपालिकाकी शिक्षा शाखाकी प्राविधिक सहायक सुकदेवी गर्बुजाले जानकारी दिइन् ।
उनका अनुसार पालिका अन्तर्गत चराङ आधारभूतमा बालविकास तहमा ५ जना र विद्यालय तहमा ४ जना, मराङ आधारभूतमा बालविकास तहमा ५ जना र विद्यालय तहमा ७ जना, ढाक्मर आधारभूतमा बालविकास तहमा ४ जना र विद्यालय तहमा ९ जना र शालिग्राम आधारभूतमा बालविकास तहमा ३ जना र विद्यालय तहमा १ जना विद्यार्थी छन् ।
यसैगरी यारा आधारभूत विद्यालयमा ५ जना र घारा आधारभूत विद्यालयमा ३ जना विद्यार्थी छन् । शिक्षा सहायक गर्बुजाकाले लोघेकरका ६ सामुदायिक विद्यालयमा पढ्ने ४६ जना विद्यार्थीका लागि शिक्षक, बालविकास सहजकर्ता र कार्यालय सहयोगीका लागि वार्षिक ५२ लाख ७६ हजार सरकारी कोषको रकम खर्च हुने बताइन् ।
उनका अनुसार ६ जना शिक्षकको वार्षिक खर्च ३३ लाख ८ हजार, बालविकास सहजकर्ताको वार्षिक खर्च ७ लाख ८ हजार र कार्यालय सहयोगीको वार्षिक खर्च १२ लाख ६० हजार रहेको छ ।