• मंसिर ११ २०८१, मंगलवार

श्रीपञ्चमी अर्थात् वसन्तोत्सव-प्रणयोत्सव

फाल्गुन २ २०८०, बुधबार

परिचय :
हाम्रो समाजमा उँभौली यामको दोस्रो चाडको रुपमा श्रीपञ्चमी मनाउने परम्परा पाइन्छ । खासगरी श्रीपञ्चमीको दिनलाई वसन्त ऋतु आगमनको विन्दु अर्थात् न्यानो यामको प्रारम्भ मानिन्छ । श्रीपञ्चमीलाई वसन्तपञ्चमी भनिनुको कारण यसै दिनदेखि वसन्त ऋतुको प्रारम्भ हुनु हो ।

अर्कोतर्फ श्रीपञ्चमी प्रायः माघ महिनाको तेस्रो हप्तातिर (कहिले फागुनको प्रारम्भतिर) पर्ने हुनाले माघीपञ्चमी पनि भन्ने गरिन्छ । माघेसंक्रातिलाई नयाँ वर्ष वा उँभौली यामको प्रारम्भको प्रतीक मानिएको छ भने श्रीपञ्चमीलाई नयाँ वर्ष तथा नयाँ याममा गरिने नयाँ कामको थालनीको प्रतीक वा सिर्जनाको प्रतिविम्व मानिएको छ ।

त्यसैले श्रीपञ्चमीको दिन गाउँ समाजमा बालबालिकालाई शिक्षारम्भ गराउने, नाक कान छेडाउने, संगीत विद्या आरम्भ गराउने, नयाँ बाच्छा दाउने, विवाह व्रतवन्ध गराउने, गाउँमा हुने लेनदेन तथा खरीदविक्रीका परम्परागत नियमहरूको संशोधन र पुनरमूल्याङ्कन गर्ने, गाउँमा नयाँ रीतिथिति बसाल्ने जस्ता महत्वपूणर् कार्यहरूको साइत गर्ने अर्थात् शिलन्यास गर्ने चलन रहेको पाइन्छ ।

‘श्री’ को अर्थ विद्या, बुद्धि, सम्पन्नता, रुप गुण आदिका शक्ति वा पूणर्ताद्वारा झल्कने शोभा, कान्ति वा दीप्ति भन्ने हुन्छ । वर्षभरिका पञ्चमी तिथिहरू मध्ये माघ शुक्ल पञ्चमी तिथिले सिर्जनशिलताका नयाँ आयामहरूको विजारोण गरिदिन्छ भन्ने मान्यताका आधारमा नै श्रीपञ्चमी भनिएको हो ।

धर्ती, प्रकृति र नारीलाई सिर्जनाको प्रतीक मानिएको हुँदा त्यसकै प्रतिबिम्बको रुपमा सरसस्वतीको पूजा गर्ने चलन पनि पाइन्छ । मगर समाजमा श्रीपञ्चमीको दिन अविवाहित युवतीहरूले मामाचेली विवाहमा आधारित गीतिनाटक जीवैमामा (ज्यो मा रे) प्रदर्शन गर्ने चलन रहेको छ । त्यसैले श्रीपञ्चमीलाई प्रणयोत्सव वा प्रेम दिवसको रुपमा समेत बुझ्ने गरिन्छ ।

प्रमुख गतिविधिहरू :
श्रीपञ्चमीको दिन पारेर वहर गोरु दाउने, सज्ने (खसी पार्ने), हलोको पूजा गरी जोत्ने, कोलपूजा गरेर यौनिच गाउने, तरुल खन्ने, तारो हान्ने, कसैले कुलानपूजा गर्ने जस्ता परम्पराहरू पाइन्छन् । खासगरी श्रीपञ्चमी पछि हिउँदे खेतीपाती स्याहार्ने तथा वर्षे खेतीपाती लगाउने कामको सुरसार गर्नुपर्ने भएकाले नयाँ बाच्छा दाउने गरिन्छ, जसलाई हलसार वा हारबाट लिने भनिन्छ ।

श्रीपञ्चमीको दिन हलोको पूजा गरेर तीन पटक जोत्ने, नयाँ बहर गोरू दाउने तथा गाउँलेहरू भेला भएर तारो हान्ने परम्पराले उँभौली ऋतुमा लगाउने बालीनालीका लागि खेतबारी खनजोतको पूर्व तयारी तथा वनजंगलमा सिकार खेल्न जानेतर्फ संकेत गर्दछ । बहर दाउनु वा हलो जोत्नुले धर्तीमा नयाँ अन्न (वर्षेवाली) सृजना गर्ने कार्यको शिलन्यासलाई बुझाउँदछ । बेसीतिर फागुनमा मकै छर्ने हुँदा माघ महिनादेखि नै खनजोत शुरु गर्नुपर्ने भएकाले श्रीपञ्चमीमा शुभसाइत पारिन्छ ।

तराईतिर पनि श्रीपञ्चमीका दिन हरबाहा (हलो जोत्ने/हरवा) र चरबाहा (चौपाया चराउने/चरुवा) को पजनी (नयाँ भर्ना तथा पारिश्रमिक बारे सम्झौता) गरिन्छ । किसानहरूले कृषिऔजारहरू खुर्पा, कोदालो आदि आरनमा लगेर अर्जाप्ने (धार लगाउने) र आरनेलाई फूल, धान, चामल, दक्षिणा आदि दिने चलन छ ।

खेतबारीमा रङ्गीचङ्गी पारिएको हलो र सिंगारिएको गोरुलाई पूजा गरी हरबाहाले एक धर्सो जोत्ने चलन छ । त्यसपछि घरको आँगनमा हलो जुवा राखेर धानले छोप्ने र उक्त धान हरबाहालाई दिने चलन रहेको छ (चौधरी, २०७३ः ६) ।

पाल्पाको वौघागुम्वा र गुल्मीको एकसिङमा श्रीपञ्चमीकै दिन जीवैमामा र यऊनीच नाचिन्छ भने पाल्पाको झेरुबासमा कौरा नाचको थालनी गरिन्छ । श्रीपञ्चमीको साँझ बुढापाका र युवाहरु (पुरुषहरु मात्र) गाउँको कोलमा भेला हुन्छन् । कोलको बियाँ, ढिकुवा र पाखुरा जोडेर पूजा गरेपछि यऊनीच गाएर नाचिन्छ जसलाई कोलढ्याक्के भनिन्छ । पुरुषहरुले मात्र प्रस्तुत गर्ने यस्तो नृत्यगीतलाई यऊनीच भनिन्छ । शुरुमा मगर भाषामा अश्लिल शब्दका गीत गाउँदै कोल घुमाउँछन् ।

त्यसपछि उल्टो गाउने भनेर खस नेपालीमा रामायण र माहाभारतमा आधारित गीत गाएर घर फर्कन्छन् (बराल मगर, २०५०ः ११६) । कोलपूजा गर्नुको उद्देश्य कोल चलाउँदा कसैलाई चोटपटक नलागोस्, धेरै तेल उत्पादन होस् र दुरात्माहरूले दुःख नदिऊन् भन्ने हो । स्याङ्जाको राम्चे गाउँका मगरहरूले भने श्रीपञ्चमीका दिनमा यऊनाट पूजा गरी विधिवत घाटु नाच प्रदर्शनको प्रारम्भ गर्दछन् (सिङ्जाली, २०७०ः ६) । श्रीपञ्चमीको भोलिपल्ट कुनै कृषि कार्य गरिँदैन, जसलाई बारना वा बार्ने भनिन्छ ।

गलकोट खुवाक्षेत्रका मगरहरूले श्रीपञ्चमीमा पनि माघे सक्रान्तिमा झैं खिचडी, तरुल, पिडालुको परिकार खाने, चेलीबेटी बोलाउने, तारो हान्ने, पितृको स्मरण गर्ने र नाचगान गर्ने गर्दछन् । यो चाडको सबैभन्दा महत्वपूणर् कार्य भनेको छापेबस्ने र गाईको पजनी हो । श्रीपञ्चमीका दिन गाउँका बुढापाका तथा भद्रभलाद्मी बसेर गाउँघरको नीति नियमको पुनरावलोकन गर्ने तथा त्यस सम्बन्धी नयाँ नियमहरू बसाल्ने कार्यलाई छापेबस्ने भनिन्छ । यसै अवसरमा वनका स्रोतहरूको उपभोग तथा चरन क्षेत्रको विभाजन र संरक्षण सम्बन्धी नियमहरू निर्धारण गरिन्छ जसलाई गाईको पजनी भन्ने गरिन्छ । यस क्रममा मकैको रोटी चारै दिशामा चढाइन्छ र बैठक समापन गरी खानपिन र नाचगान गर्दै श्रीपञ्चमी मनाइन्छ (गुरुङ, सन् १९९९) ।

निष्कर्ष :
श्रीपञ्चमी चाड मनाउने क्रममा पुरुषहरू वनमा गई तरुल खनेर ल्याउने, तारो हान्ने तथा सिकार खेल्न जाने अनि हातहतियार र कृषि औजारहरू एक स्थानमा जम्मा गरेर पूजा गर्ने चलनले सिकार गरेर तथा फलफूल, कन्दमूल आदि खाद्यान्न संकलन गरेर जीविकोपार्जन गर्ने युग  hunting & gathering age को झल्को दिनुको साथै यसको प्राचीनतालाई समेत पुष्टि गर्दछ । कोलपूजा गर्ने परम्पराले हिउँदे बाली तोरी पेल्ने कोललाई तयारी अवस्थामा राख्नेतर्फ संकेत गर्ने हुँदा श्रीपञ्चमीलाई हिउँदे बाली भित्र्याउने चाड  harvest festival को रुपमा पनि बुझ्न सकिन्छ ।

अहिले तोरी पेल्ने आधुनिक मेसिन भित्रिन थालेपछि परम्परागत प्रविधिमा आधारित कोलहरू लोप भइसकेका छन् । पशुपालन र खोरिया खेती गर्ने अनि लेक र बेसीको अर्ध घुमन्ते जीवनशैली अपनाउने पहाडी समाजमा व्यापक परिवर्तन भित्रिएको छ । पेशा र जीवनशैलीमा देखापरेका समसामयिक परिवर्तनका कारण छापेबस्ने र गाई पजनीको परम्पराका साथै नयाँ बाच्छा दाउने चलन पनि हराउँदै गएको छ ।

पहाडतिर पनि साना हाते ट्र्याक्टरबाट जोत्ने चलन भित्रिएको छ । श्रीपञ्चमीको अवसर पारेर मगर युवतीहरूले मामाचेली विवाहमा आधारित जीवैमामा/ज्यो मा रे प्रदर्शन गर्ने परम्परा पनि हराउँदै गएको छ । अहिले मामाचेली विवाहको चलन नै लोप हुने अवस्थामा पुगेकाले त्यसैसँग अन्तरसम्बन्धित जीवैमामा लोक गीतिनाटक पनि संकटमा परेको छ ।

नेपाली युवायुवतीले श्रीपञ्चमीको अवसरमा मनाइने मौलिक प्रणयोत्सव यऊनाट (जीवैमामा/ज्यो मा रे) लाई बिर्सेर युरोपतिरको भ्यालेन्टाइन डेमा रमाउँदै सांस्कृतिक पहिचान गुमाउँदै छन् । सांस्कृतिक बिचलनका कारण समाजमा श्रीपञ्चमी मनाउने परम्परा र त्यसको महत्वमा कमी आउनुका साथै यो चाड नै प्रचलनबाट लोप हुने हो कि भन्ने संकेत देखापर्न थालेको छ ।

सन्दर्भ सामाग्री सूची :
चौधरी, राकेशप्रसाद. (२०७३ माघ २२). कृषिसँग जोडिएको पर्व. गोरखापत्र पृ.६ । बराल मगर, केशरजंग. (२०५०, पुनः मुद्रण २०६८). पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरुको संस्कृति. काठमाडौंः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान । मगर अध्ययन केन्द्र. (२०६३). अठार मगराँतका मगरहरूको सांस्कृतिक संस्कारहरू तथा धार्मिक आस्था सम्बन्धि अध्ययन (अप्रकाशित अध्ययन प्रतिवेदन). ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान । श्रीस मगर, मीन. (२०६६). पश्चिमाञ्चल विकास क्षेत्रका मगर समुदायमा प्रचलित लोकगीतनृत्यको वर्तमान अवस्था र चुनौतिहरू, काठमाडौंः मगर अध्ययन केन्द्र ।
(२०७५). चाडवाडहरूको समाजशास्त्रीय विश्लेषण. ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान । (२०७९). अमूर्त संस्कृतिः प्रदर्शनीकला, परम्परागत संस्था र ज्ञान, ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान । सिङ्जाली, विष्णुकुमार. (२०७०). स्याङ्जा जिल्लाका मगर समाजमा प्रचलित घाँटो. शोधमाला, काठमाडौंः मगर अध्ययन केन्द्र, ७ (२), पृ १-१३ ।

Gurung, O. P. -1999. Local institutions, cultural practices and resource management in a mountain village of west Nepal. In R. B. Chhetri & Om P. Gurung eds. Anthropology and Sociology of Nepal, pp. 251.274. KathmanduM SASON.