• भाद्र २४ २०८१, सोमबार

चन्द्रमा सेलाउँदै र पृथ्वी तात्दै !

फाल्गुन २ २०८०, बुधबार

पृथ्वी तात्दै जाँदा चन्द्रमा भने सेलाउँदै गइरहेको छ । चन्द्रमाको भित्री सतह सेलाउँदै गएको हो भने पृथ्वीको भने बाहिरी सतह तात्दै गएको हो । पृथ्वीमा ग्लोबल वार्मिङका कारण बाहिरी सतह ताते पनि पृथ्वीकै पनि भित्री सतह प्राकृतिक हिसाबले सेलाउँदै गइरहेको छ ।

भित्री सतहले नै बाहिरी प्रारूप निर्धारण गर्ने कुरालाई वैज्ञानिक रूपमा मनन गर्ने हो भने पृथ्वी पनि एक दिन चन्द्रमा झैं शितल र चिसो हुँदै जाने देखिन्छ । पृथ्वीको आन्तरिक तापमानमा स्थिरता ल्याउन सक्ने ल्याकत मानवमा छैन । बाहिरी सतहमा भइरहेको ‘ग्लोबल वार्मिङ’ कमी गर्ने वाचा त कागजमा मात्र सिमित रहेका बेलामा ल्याकत र बुताभन्दा बाहिर रहेको पृथ्वीको भित्री सतहका बारेमा के कुरा गर्ने ?

तर चिन्ताको कुरा के हो भने सबै ग्रह र तारा तथा सूर्य पनि सेलाउँदै गइरहेका छन् । ब्रह्माण्डमा अस्तित्वमा रहेका तप्त तथा उज्याला उर्जा क्रमशः शीत तथा अध्याँरा उर्जामा परिणत हुँदै गइरहेका छन् । उज्याला र चम्चमाउने सूर्य र तारा क्रमशः अध्याँरा र शक्तिशाली कृष्णछिद्र ‘ब्ल्याक होल’ मा परिणत हुँदै गएका छन् ।

चन्द्रमा मानव बस्ती छैन । त्यहाँ मानव गतिविधिका कारण कार्वन उत्सर्जन हुने र बाह्य रूपमा तापमान बढ्ने संभावना छैन । तर प्राकृतिक नियम अनुसार चन्द्रमा सेलाउँदै गइरहेको छ । सानो आकारको पिण्ड भएकाले पृथ्वीभन्दा छिटो सेलाउनु यसको भौतिक नियम नै हो ।

सेलाउँदै जाँदा चन्द्रमा खुम्चदै गइरहेको छ । यसका कारण चन्द्र सतहमा ठूल्ठूला चिरा परिरहेका छन् र धूले पहिरो गइरहेका छन् । यसले शायद चन्द्रमामा रहेको गरूत्वाकर्षण र गुरूत्व बलमा पनि फेरबदल ल्याउन सक्ने हुन सक्छ । यसो भएमा चन्द्र सतह च्यातिने र हुत्तिएर आकाशमा हराउने नहोला भन्न सकिदैन ।

यसको एक मात्र कारण हो, सेलाउँदै जाने क्रममा आफूलाई एकत्रित रूपमा चन्द्रमाले सम्हाल्न सक्ने हैसियत राख्छ कि राख्दैन ? सोचनीय विषय बनिरहेको छ । चन्द्र सतह पृथ्वीको तुलनामा कम कसिलो र कम बलियो रहेको छ ।

पृथ्वी पिण्डका हिसाबले जेजस्तो रहला, त्यो पृथ्वी आफैको भौतिक अस्तित्वको कुरा हो । तर जहाँसम्म पृथ्वीमा रहेका जीव वनस्पतिका कुरा छन्, यो मूलतः दुई कुराले दीर्घकालपछि समाप्त हुने देखिन्छ । पहिलो मानव सिर्जित कारण ‘ग्लोबल वार्मिङ’ र दोस्रो पृथ्वीको भित्री सतहमा आइरहेको चिसोपना ।

भौतिक दार्शनिक कार्ल मार्क्सले ‘पृथ्वीको जन्म भएकाले यसको अन्त्य पनि अवश्यंभावी छ’ भनी सत्य उद्घाटित गरिदिएका छन् । मानवसहित जीव तथा वनस्पतिको अन्त्य मानव सिर्जित क्रियाकलापले विश्व वाह्य तापमानमा भइरहेको वृद्धिका कारण हुन सक्ने देखिन्छ । तर पृथ्वीको भौतिक अन्त्य भने हालैका पछिल्ला अनुसन्धानका क्रममा चन्द्रसतहमा देखिएका भौतिक सङ्केतले पनि इङ्गीत गरिरहेका छन् । होला यसो हुन करोडौं वर्ष लाग्ला पनि !

तर पृथ्वीमा जीव तथा वनस्पतिको अन्त्य भने मानव स्वयम्को क्रियाकलापले नै गर्नेमा दुईमत देखिदैन । चन्द्र सतह सेलाउँदै जानु चन्द्रमाको भौतिक अस्तित्व के हुने हो भन्नेसँग दीर्घ अनुसन्धान आकृष्ट हुन्छ भने पृथ्वी तात्दै जानु पृथ्वीमा रहेका जीव तथा वनस्पति के हुने हुन् भन्ने सापेक्ष अल्पकालिक अनुसन्धानसँग जोडिन पुग्छ ।