• मंसिर १४ २०८१, शुक्रबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न राप्रपाले बनायो वार्ता समिति

फाल्गुन १ २०८०, मंगलवार

काठमाडौँ  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानका नाममा कार्यक्रम गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको टोलीसँग संवाद गर्न वार्ता समिति बनाएको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले प्रसाईंसँग संवादका लागि उपाध्यक्ष हेमजङ्ग गुरूङ र महामन्त्री धवलशमशेर राणा रहेको वार्ता समिति गठन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

‘हाम्रो तर्फबाट वार्ता समिति सदस्यहरू तोकिइसकिएको छ। उता (प्रसाईं) पक्षबाट पनि वार्ता टोली बनेपछि औपचारिक रूपमा छलफल अघि बढ्छ।’

प्रसाईंले भृकुटीमण्डपमा कार्यक्रम गर्नुअघि मंगलबार भक्तपुरस्थित एक रिसोर्टमा राप्रपा महामन्त्री राणा लगायतसँग कुराकानी पनि गरेका थिए।  प्रसाईंले सोमबार अध्यक्ष लिङ्देनसँग भक्तपुरस्थित सोही रिसोर्टमा भेटेका थिए।

प्रसाईंले राप्रपाका अध्यक्ष लिङ्देनसहित नेताहरूसँग आफ्नो अभियानलाई समर्थन गर्न आग्रह गर्दै आएका छन्। ‘राजावादी’ हरू एक ठाउँमा उभिनुपर्ने तर्क उनीहरूको छ।

प्रसाईंसँग छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै राप्रपा महामन्त्री धवलशमशेर राणाले आफूहरू एक ठाउँमा उभिएको बताए।