काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेतृत्वमा बसिरहने रहर नभएको बताएका छन् । ०४६ सालमा नेकपा मसालको नेतृत्व सुरु गरेर अहिलेसम्म नेतृत्वमै रहेका अध्यक्ष प्रचण्डले मंगलबार जनयुद्ध दिवसको कार्यक्रममा आफूलाई नेतृत्वमा बसिरहने लोभ नभएको बताए ।
पूर्वमाओवादीलाई फेरि एकताबद्ध हुन आह्वान गरेका अध्यक्ष प्रचण्डले नेतृत्वमा जानका लागि पनि खुला रहेको सन्देश दिन यस्तो बताएका हुन् ।
‘म माओवादीबाट अलग हुनुभएका साथीहरूलाई आह्वान गर्न चाहन्छु । आउनुस् बसौँ, समीक्षा गरौँ । खुल्ला मनले आत्मालोचना गरौँ,’ अध्यक्ष प्रचण्डले भने, ‘माओवादी युद्धका सहयात्री सबैले मलाई स्थापित गर्न सहयोग गर्नुभयो । अब मलाई नेतृत्वमा बसिराख्ने लोभ पनि छैन ।’
सर्वोच्च अदालतले जनयुद्ध दिवसलाई असंवैधानिक घोषणा गरेको र राजनीतिक प्रतिस्पर्धीले होच्याएकोप्रति अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाए । त्यहीकारण माओवादीहरू पुनः संकल्पित हुनुपर्ने बताए ।
‘२९औँ जनयुद्ध दिवस मनाउँदै गर्दा नयाँ संकल्प गर्नुपर्नेछ । जनयुद्ध नेपालको इतिहासको महान दूरगामी पहल थियो, छ र रहिरहनेछ,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यतिबेला पनि तिथिमिति तोक्ने, टिक्न सक्दैन भन्ने नेताहरू हुनुहुन्थ्यो । पत्याउन सकेका थिएनन् । अध्ययन गरेर नै तयारी गरिएको थियो ।’
उनले युद्धका क्रममा साना-साना विषयमा ध्यान पुगेकाले नै आजको दिनसम्म आइपुगेको बताए । ‘कतिपय ठाउँमा सानो कमजोरी गरेर ठूलो क्षति पनि बेहोर्यौं । उत्पीडत वर्गलाई पहिचान र आत्मसम्मान गर्ने अफ्ठ्याराका बाबजुद झाँगिदै पुग्यौं,’ उनले भने, ‘लिडरसीपले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति परिवेश अनुसार निणर्य गर्न नसकेको भए जनयुद्ध परास्त हुने खतरा थियो ।’
उनले सबैको आशाको केन्द्र बनेको माओवादीको वर्तमान अवस्था त्यस्तै रहन नसकेको स्वीकार गरे । ‘माओवादी आशाको केन्द्र बनेको थियो । इतिहासलाई बङ्ग्याउने छुट कसैलाई छैन,’ प्रचण्डले भने, ‘८० प्रतिशत भू-भाग हाम्रो कब्जामा थियो । जनयुद्धले नै निणर्ायक शक्ति बनेको थियो । हामी एक्लैले काठमाडौं कब्जा गर्न सकिँदैन भन्नेमा पुगेकै हो ।’
अध्यक्ष प्रचण्डले जनयुद्धलाई होच्याउनेहरूले गणतन्त्रविरुद्ध पनि दुस्साहस गरिरहेको अथ्र्याए । ‘गणतन्त्रविरुद्ध दुस्साहस गर्ने कोसिस गर्दैछन् । एकपटक फेरि हामी जाग्नुपर्छ । अपमानित गर्न खोज्नेलाई ठिक ठाउँमा ल्याउनुपर्ने छ,’ प्रचण्डले भने, ‘जनयुद्धमा सहिद नभएको कुनै जाति छैन । महान जनयुद्धलाई अपमानित गर्ने छुट कसैलाई छैन ।’