काठमाडौं । ०५२ सालदेखि नेपालमा चलेको माओवादी जनयुद्धको २९औं वार्षिक उत्सवको अवसरमा संसारभर क्रियाशील पत्रकारहरुको संगठन अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले शुभकामना सन्देश जारी गरेको छ ।
केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्वारा जारी विज्ञप्तिमा वर्तमान संविधानमा जनयुद्धले प्राप्त गरेका पूर्ण उपलब्धि स्थापित गर्न माओवादी नेतृत्व असफल भएको भएपनि प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धि हासिल गर्न नेपाली जनताका उर्जा पैदा हवस भन्ने शुभकामना व्यक्त गरिएको छ ।
केसीले विज्ञप्तिमा जनयुद्ध दिवस मनाउने नेपाली जनताप्रति आफ्नो संगठनको एक्यवद्धता जाहेर गर्दै भनेका छन्,‘आज फागुन १ गते । नेपालका क्रान्तिकारी माओवादी पार्टीहरु, जनवर्गीय संगठनहरु र आम मुक्तिकामी जनसमुदायले देशव्यापी रुपमा २९औं जनयुद्ध दिवस धुमधामका साथ मनाउन गइरहेका छन् । यसमा हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ऐक्यबद्धता रहेको छ ।’
केसीले विज्ञप्तिमा विक्रम सम्बत २०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले सञ्चालन गरेको दस वर्षे जनयुद्ध तत्कालीन नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक लगायत वर्गीय, क्षेत्रीय, लिङ्गीय समेतका विभेदहरुको आमूल परिवर्तन जनताको नयाँ जनवादी व्यवस्थाहुँदै वैज्ञानिक समाजवादमा पुगेर वैज्ञानिक साम्यवादमा पुग्ने बाटो तय गर्ने उद्धेश्यका साथ सञ्चालन गरिएको समग्र वर्गयुद्ध थियो भन्ने आफ्नो संगठनको ठहर रहेको बताएका छन् ।
केसीले विज्ञप्तिमा अगाडी भनेका छन्,‘फलस्वरूप त्यसबाट नेपाली जनता र नेपाल राष्ट्रलाई महत्पूणर् उपलब्धिहरु प्राप्त भएका थिए भन्ने हाम्रो संगठनको ठहर छ । तर उक्त महान दश वर्षे जनयुद्धको मुख्य नेतृत्वले गद्धारी गरी सामन्तवाद र साम्राज्यवादको आडभरोसामा टिकेको नेपालको दलाल संसदीय व्यवस्थालाई टिकाई राख्ने र त्यसकै सरकारको नेतृत्व गर्न पुगेपछि उपलब्धिका रुपमा रहेका जनसत्ता, जनअदालत, जनकम्युन, जन सरकार, जनमुक्ति सेना, हतियार समेत गुमाउन पुगेको र प्रतिगामी शक्तिहरुले टाउको उठाउन थालेको वर्तमान अवस्थामा तिनीहरूको पुनः प्राप्ति र थप उपलब्धिहरु हासिल गर्दै महान नेपाली जनताको सुन्दर सपनाको रुपमा रहेको नयाँ जनवाद, वैज्ञानिक समाजवाद प्राप्तिको दिशातर्फ अगाडि बढ्नका निम्ति देशभर छरिएर रहेका माओवादी क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु, दशभक्त तथा जनतान्त्रिक शक्तिहरु एकजुट हुन हामी हार्दिक अपिल गर्दछौं ।’
सो संगठनले यसो गर्न सके मात्रै २९औं नेपाली जनयुद्ध दिवस मनाउनुको सार्थकता हुनेछ भन्ने ठहर गरेको छ ।