• मंसिर १२ २०८१, बुधबार

क्यानडाले दियो नेपाललाई २३३ रनको लक्ष्य

माघ २९ २०८०, सोमबार

काठमाडौं । ३ दिने एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले क्यानडाविरुद्ध जितका लागि २३३ रनको लक्ष्य पाएको छ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनायो।

क्यानडाका लागि ओपनर नवनीत धालीवालले सर्वाधिक ५० रन बनाए। ८२ बलको सामना गरेका उनले ५ चौका प्रहार गरे। उनलाई आकाश चन्दले रोहित पौडेलबाट क्याचआउट गराए। क्यानडाका लागि निखिल दत्ताले ४५ रन बनाए। ६२ बलको सामना गर्दा २ चौका र एउटा छक्का प्रहार गरेका निखिल रनआउट हुँदै पेभेलियन फर्किए।

क्यानडाका साद बिन जाफरले ३१, हर्श ठाकरले २९, श्रेयस मोभ्भाले २५ तथा श्रीमंथा विजयरत्ने २२ रन बनाए।

क्यानडाविरुद्ध नेपालका हेमन्त धामीले ३ विकेट लिए। हेमन्तले डेब्यू खेलमै क्यानडाका आरोन जोनशन, श्रेयस मोभ्भा र डिलन हेइलिगरलाई आउट गरे। ८ ओभर बलिङ गरेका हेमन्तले ४९ रन खर्च गरे।

नेपालका लागि कुशल मल्लले २ विकेट लिए। यस्तै, ललित राजवंशी र आकाश चन्दले समान १–१ विकेट लिए।