• मंसिर १५ २०८१, शनिबार

माओवादी केन्द्रका नेता रेवतराज पुरी ‘गगन’ सम्पति शुद्धिकरणमा दोषी ठहर

माघ २८ २०८०, आईतवार

विराटनगर । नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरी ‘गगन’ सम्पत्ति  शुद्धिकरणमा दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो ।

माओवादी केन्द्र कोशी प्रदेश समितिका कोषाध्यक्ष उनलाई सजाय निर्धारणका लागि ६ फागुनमा पेसी तोकिएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पुरीलाई दोषी ठहर गरेको हो ।

गगनसँगै उनकी श्रीमती सीमाको नाममा ४ करोड ३ लाख ३४ हजार ८ सय ९४ रुपैयाँ अवैध सम्पत्ति भेटिएकोले दुवै जना सम्पत्ति शुद्धीकरण ऐनअनुसार दोषी ठहर भएका हुन् ।

झापाको ‘बालुवाटार काण्ड’ भनेर चिनिने दमक-१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण विभागले ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

विभागले पुरीसमेत ६ जनालाई प्रतिवादी बनाउँदै २१ माघ ०७७ मा मुद्दा दायर गरेको थियो । प्रकरणमा मनमाया पुरी र देवकुमारी पुरीले सफाइ पाएका छन् । कृष्णकुमारी पुरी र संगीता पुरीको नामको जग्गा जफत नहुने फैसला भएको छ ।