इस्लामाबाद । पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) ले चुनाव जितेको दाबी गर्दै देशका धेरै भागमा विरोध प्रदर्शनको घोषणा गरेको छ ।
पार्टीले चुनावमा पाएको जनादेश लुट्ने प्रयास भइरहेको आरोप लगाएको छ । पार्टीले लाहोर, फैसलाबाद, रावलपिंडी, मुल्तान, बहावलपुर, डेरा गाजी खान र गुजरनवालामा कार्यकर्ताहरूलाई प्रदर्शन गर्न आग्रह गरेको छ ।
अहिलेसम्मको नतिजामा पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी सिट जितेका छन् । पीटीआईले एक सन्देशमा दिउँसो २ बजे लाहोरको लिबर्टी चोकमा शान्तिपूणर् प्रदर्शनको तयारी गर्न भनेको छ । पीटीआईले ट्वीटरमा जनादेश खोस्ने प्रयासको विरोधमा दक्षिणी पञ्जाबमा शान्तिपूर्ण प्रदर्शनहरू गरिने बताएको छ ।
मतदान सकिएको तेस्रो दिन भए पनि राष्ट्रिय सभाका सात सिटको मत परिणाम आउन बाँकी छ । यी सबै सिट बलुचिस्तानका हुन् ।
यसअघि शनिबार पीटीआईका अध्यक्ष गौहर अली खानले आफ्नो पार्टीका कार्यकर्ताले शनिबार रातिसम्म नतिजा घोषणा नहुने सिटहरूमा मतगणना केन्द्रबाहिर विरोध प्रदर्शन गर्ने बताएका थिए । हालसम्मको नतिजामा खानको पार्टी पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी ९३ सिट जितेका छन् ।
पूर्वप्रधानमन्त्री नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग (पीएमएल-एन) दोस्रो स्थानमा छ । यसले अहिलेसम्म ७४ सिट प्राप्त गरेको छ । तेस्रो स्थानमा बिलावल भुट्टो जरदारीको पाकिस्तान पिपुल्स पार्टी छ, जसले ५४ सिट ल्याएको छ । अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले ३७ सिट जितेका छन् ।
यसैबिच, पीटीआई अध्यक्ष खानले आफ्नो पार्टीसँग बहुमत रहेको र देशका सबै संस्थाले आफ्नो पार्टीको जित स्वीकार गर्नुपर्ने बताएका छन् ।