सर्वप्रथम, संविधान र ब्यवस्थामा केही विषय थप्दैमा समाजवादी भइहाल्छ भन्ने हैन । तर समाजवाद उन्मुख भने अवश्य हुन्छ । लोकतन्त्र भनेको समाजवादमा पुग्ने बाटो हो भने समाजवाद उच्च स्तरको लोकतन्त्र हो । यी दुई दार्शनिक प्रवर्गबिना दुनियाँ बुझ्न र बदल्न सकिन्न ।
हिजोको जस्तो एकल रेखात्मक दार्शनिक प्रवर्ग हैन बरु बहुरेखात्मक दार्शनिक प्रवर्गको बाटोबाट चौथो औद्योगिक क्रान्तिको नेतृत्व गर्ने पार्टी विधान बनाउनु पर्छ र स्वतन्त्रता, समानता र मानवता सहितको तिनै प्रवर्गीय गुण भएको एक्काइसौं शताब्दीको नेतृत्व गर्ने विचारधारा संश्लेषण गर्नुपर्छ ।
यसमा टेकेर नयाँ ढङ्गको समाजवादी शक्तिको नेतृत्वमा विभिन्न चरण हुँदै पुरानो एकदलीय शास्त्रीय ढाँचाको होइन प्रतिष्पर्धी र सहकार्यको ढाँचाको समाजवादी प्रणालीमा पुर्याउन सकिन्छ । जसलाई हामी क्रान्तिकारी रुपान्तरणको सिद्धान्त भन्न सक्छौं ।
दोस्रो, त्यसको निम्ति पहिलो सर्त, यहाँ प्रस्ताव गरिएको जस्तो नयाँ समाजवादी वैकल्पिक राजनीतिक शक्ति बन्नुपर्छ र त्यो स्थिर ढंगले सत्ता संचालन गर्ने स्थानमा पुग्नुपर्छ । त्यसले निश्चित अवधिसम्म इमानदारीपूर्वक संविधान कार्यान्वयन गर्दै समाजिक-आर्थिक स्तर र जनताको उच्च चेतना निश्चित तहसम्म उठाउनु पर्छ ।
तेस्रो, उन्नत तहको चेतना उठेका जनताको नेतृत्वमा बहुसंख्यक उत्पीडित वर्ग, जाति लिङ्ग र जनसमुदायको सहभागितामा विशाल आन्दोलन उठ्नु पर्छ । सडक, सदन र सरकारको संयुक्त बलमा यो संविधानलाई संशोधन गरेर वा पुनरलेखन गरेर अझै समृद्ध समाजवाद उन्मुख बनाउनु पर्छ ।
चौथो, यो चक्र पटक-पटक दोहर्याएर समाजको आर्थिक-समाजिक स्तर उठाउने र संविधान र ब्यवस्थालाई समुन्नत समाजवादमा रुपान्तरण गर्ने र आवश्यक परे आम जनबिद्रोहको बलमा नयाँ समाजवादी व्यवस्था स्थापना गर्ने बाटो सम्भव र उपयुक्त हुनसक्छ ।
पाचौं, अर्थात् हिजोको क्रान्ति वा सुधार भन्दा फरक वा विकसित सुधार वा क्रान्तिको समायोजनसहितको क्रान्तिकारी रुपान्तरणको बाटोबाट एकाइसाैं शताब्दीको समाजवादी क्रान्तिको बाटो हुनसक्छ ।
-लेखक, माओवादी केन्द्रका बौद्धिक नेता हुन् ।