• मंसिर १५ २०८१, शनिबार

अमेरिकी पत्रकारसित पुटिनले भने-अमेरिकाले युक्रेनलाई हतियार दिन छोडोस्, युद्द छिट्टै अन्त्य हुन्छ

माघ २६ २०८०, शुक्रबार

काठमाडौं । अमेरिकी पत्रकार टकर कार्लसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग लिएको अन्तर्वार्ता अहिले विश्वभर चर्चामा छ ।

बिहीबार राति सार्वजनिक भएको अन्तर्वार्तामा पुटिनले अमेरिकाले युक्रेनलाई हतियार दिन बन्द गर्नुपर्ने बताएका छन् । सन् २०२२ को फेब्रुअरी २४ मा युक्रेनमा आक्रमण गरे यता पश्चिमा मिडियामा पुटिनको यो पहिलो अन्तर्वार्ता हो ।

मस्कोमा लिइएको दुई घन्टाको अन्तर्वार्तामा पुटिनले ओलेग द वाइजको नवौँ शताब्दीको शासनदेखि सन् १३०० को संघर्षसम्मको इतिहासबारे बोलेका छन् । अन्तर्वार्तामा उनले ३० मिनेटसम्म लेनिनको विदेश नीतिदेखि रुस, लिथुआनिया, पोल्याण्ड र युक्रेनको इतिहासबारे बोलेका छन् ।

२१औँ शताब्दीमा पुग्दा पुटिनले युक्रेन युद्ध लम्बिनुको आरोप अमेरिका र अन्य पश्चिमी देशलाई लगाएका छन् । पुटिनले युक्रेनसँगको शान्ति वार्ता लगभग अन्तिम चरणमा पुगेको तर रूससँग लड्न उसले अमेरिका र अन्य पश्चिमा मुलुकको निर्देशन मानेको बताएका छन् ।

पुटिनले बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनलाई पनि यसको दोष लगाएका छन् । अन्तर्वार्ता अघि एक भिडियोमा कार्लसनले ‘पुटिनले युक्रेनमा किन आक्रमण गरे वा उनको लक्ष्य के हो’ भन्ने कुरा अमेरिकी नागरिकलाई थाहा नभएको भन्दै अन्तर्वार्ता लिन प्रेरित भएको बताएका थिए । पुटिनले अमेरिकाले युक्रेनलाई हतियार पठाउन छोडेमा चाँडै नै युद्ध अन्त्य हुने बताएका छन् ।

अमेरिकालाई रुसको सन्देशका रूपमा पुटिनले भनेका छन्, ‘अमेरिकाले साँच्चै लडाइँ रोक्न चाहन्छ भने हतियार आपूर्ति बन्द गर्न आवश्यक छ । त्यसपछि युद्ध केही हप्तामै समाप्त हुन्छ ।’ पुटिनले युक्रेनमा आक्रमण गर्नुअघि अमेरिकी राष्ट्रपति जो बाइडेनसँग अन्तिम पटक कुरा भएको बताए ।