संसारलाई सृष्टि गर्ने क्रममा एक दिन ब्रह्माजीले चारवटा जीव सिर्जना गरेछन् । ती थिए, गोरू, गधा, कुकुर र मान्छे ! सृष्टि गरिएका चारै प्राणी अगाडि सरेर ब्रह्मालाई नमस्कार गर्दै आआफ्नो काम सोधी बाँच्ने उमेरसमेत थाह पाउन अनुरोध गरेछन् । ब्रह्माले गोरूलाई ‘तिम्रो काम जोत्ने हो, तिम्रो आयु चालिस वर्ष हुनेछ’ भनेछन् । गधाले हिनहिनाउँदै ‘मेरो काम र उमेर कति हो’ भनी सोधेछ । ‘तिम्रो काम भारी बोक्ने हो, तिम्रो आयु ४० वर्षको हुनेछ’ भनेछन् । कुकुरको पालो आएपछि उसलाई ब्रह्माले भनेछन्, ‘तिम्रो काम हेरचाह गर्ने हो, तिम्रो उमेर पनि ४० वर्ष हो’ भनेछन् ।
त्यसपछि मानिसको पालो आएछ । मानिसले भूईंमा दुई खुट्टाले टेक्दै ‘प्रभू ! मेरो काम के हो र कति वर्ष बाँच्छु’ भनी सोधेछ । ब्रह्माजीले मुसुक्क हाँस्दै भनेछन्, ‘तिम्रो त काम धेरै छ, सोच्नुछ, खोज्नुछ, गर्नुछ ।’ कपाल कन्याउँदै मानिसले ब्रह्माजीसाग फेरि प्रश्न गरेछ, ‘प्भू ! काम यतिका धेरै, तर आयु जम्मा ४० वर्ष !’
यति नै बेला गोरूले टाउको हल्लाउँदै भनेछ, ‘४० वर्षको उमेरसम्म म कसरी हलो जोतेर बस्ने, मेरो आयु धेरै लामो भयो प्रभू !’ गधा र कुकुरले पनि ४० वर्षको आयुसम्म भारी बोकेर र रेखदेख गरेर बस्न नसकिने चिन्ता जाहेर गरेछन् । त्यसपछि ब्रह्माजीले गोगधा र कुकुरको २०/२० वर्ष झिकेर मानिसलाई थपिदिएछन् । त्यसपछि ‘मानिसले ४० वर्षसम्म मनुष्यको आफ्नो जीवन जिउने, ४० देखि ६० वर्षसम्म गोरूले जस्तै जोतिने, ६० देखि ८० वर्षसम्म गधाले जस्तै परिवारको बोझ थाम्ने, र ८० वर्षभन्दा माथि कुकुरले जस्तै घरमा बसेर रखवारी गर्ने जीवन जिउने’ कार्य योजना ब्रह्माजीले सुनाए ।
यो सानो धार्मिक चुटकिला साथीले ऊ ‘सानोछँदा बाजेले सुनाएको’ भनेर मलाई सुनाएको थियो । अहिले सामाजिक संरचना परिवर्तन भइसकेको छ । मासि संयुक्त परिवारमा मात्र होइन, एकलो परिवारमा पनि बाँच्न रूचाउने भइसकेको छ । नातिपनातिनीहरू बाजे बज्यैलाई एउटा वस्तुका रूपमा हेर्न रूचाउँछन् । सधैं उनीहरूको रेखदेखमा बस्न रूचाउँदैनन् सायद ।
पारिवारिक समस्याहरू दुई प्रतिकुल स्थितिमा सिर्जना हुन्छन् । या त घरपरिवार चलाउन पैसा नभएपछि या त धेरै पैसा भएपछि । पैसा नभएर पनि पनि समस्या र धरै भयो भने पनि समस्या । म र मेरो दाजु परिवारमा सँगै रहँदा थुप्रै प्रगति गरेका थियौं । बिस्तारै परिवार समृद्ध हुँदै जाँदा खटपट सुरू भयो । यो हाम्रो घरको मात्र समस्या होइन । सबैका घरमा देखिने समस्या यस्तै हो । मरा दुइृ छोराहरूका बीचमा पनि व्यापारिक मिटिङ बसेका बेलामा कहिलेकाँही मनमुटाव हुन्थ्यो । म तयसलाई साम्य पारिदिन्थे । असमझदारी हुन पाउँदैनथ्यो ।
विभिन्न खटपटका बाबजुद हामी दुई दाजुभाइ जीवनको ५५ वर्षसम्म सँगै बस्यौं । थुप्रै व्यावसायिक प्रगति पनि ग¥यौं । संयुक्त परिवारमा रहँदा अनायाश मैले दाजुको चित्त दुखाएको हुँला र दाजुले पनि मेरो चित्त दुखाएका होलान् । यसले समय समयमा तनाव सिर्जना गर्दथ्यो । हाम्रो संघर्षशील जीवन कालमा पैसा धेरै नहुँदा जतिसुकै खटपट भएपनि सँगै बसेर काम गर्यौं। जब आर्थिक पक्ष सबल भयो, अनि प्रत्यक्ष, अप्रत्यक्ष समस्याहरू आउन थाले ।
कुनै समस्या सोझै खडा भए । कुनै अदुष्य रूपमा खडा हुन थाले । बिस्तारै पारिवारिक वातावरण नै खलबलिन थाल्यो । कहिलेकाँही मेरो मुखबाट भन्न नहुने शब्दहरू फ्याट्ट निस्कन थाले । दाजुको तर्फबाट पनि गर्न नहुने काम भइदिन थाले । भाग्यवस हामीले पनि त्यो समस्यालाई पहिचान गर्यौं। त्यसलाई सुल्झाउन अंशबण्डा गर्यौं।
(कर्ण शाक्यको मोज पुस्तकबाट)