काठमाडौं । एमाले प्रमुख सचेतक पदम गिरीले सरकार असफल हुँदा वर्तमान राजनीतिक व्यवस्थामाथि प्रहार भएको बताएका छन् । उनले वर्तमान सरकार सुशासन भन्दा पनि तस्करीमा लागेको आरोप लगाए ।
बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सरकार असफल हुनु भनेको व्यवस्था असफल भएको भन्न नमिल्ने उल्लेख गरे । उनले व्यवस्थाभन्दा पनि सरकारको विकल्प खोज्ने समय आएको जानकारी दिए ।
‘आम जनतामा सरकारप्रति मात्र होइन व्यवस्थाप्रति वितृष्णा बढेको छ । सरकारको अकर्मण्यताको कारण व्यवस्थाको कुप्रचार भएको छ । यो व्यवस्थाको असफलता हैन भन्न चाहन्छु । यहीभित्र समस्याको समाधान खोज्नुपर्छ,’ उनले भने ।
प्रमुख सचेतक गिरीले सरकारका कारणले राष्ट्रिय गौरवको आयोजना अलपत्र परेको र राज्यको अरबौँ रूपैयाँ के हुन्छ भन्दै चिन्ता व्यक्त गरे ।
‘गाउँ-गाउँमा खानेपानी आयोजनालाई सरकारले बजेट नदिँदा ट्यांकी फुटेका छन् । विद्यालय र आधारभूत अस्पताल सरकारले दायित्व भुक्तानी नगर्दा अलपत्र अवस्थामा पुगेको छ,’ उनले भने ।
आफ्नो दलको अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम वर्तमान सरकारले अलपत्र पारेको भन्दै उनले आक्रोश पोखे । प्रधानमन्त्री कृषि आधुनिकीकरण जस्ता कार्यक्रम वर्तमान सरकाले अलपत्र पार्दिदा किसान कृषि क्षेत्रमा केही गर्छौँ भन्ने आत्मविश्वास गुमेको उनले बताए ।
सरकारले भारत रिसाउँछ कि भन्ने डरमा विमानस्थल चलाउन नसकेको संगिन आरोप उनको थियो । सरकार सफल हुन नसक्दा मन्त्री र प्रधानमन्त्री स्वयम् स्टण्डमा लागेको धारणा उनको थियो । प्रधानमन्त्री नै जातीय राज्य बाँड्छु भनेर व्यवस्थाविरोधी भएर स्टण्ड गरिरहेको आरोप उनले लगाए ।